अस्पतालमै मुसाले टोकेर १० दिने शिशुको मृत्यु भएपछि.... पूरा पढ्नुहोस्
नयाँ दिल्ली, १० भदौ । उपचाररत रहेका एक जना १० दिनको शिशुको मुसाले टोकेर ज्यान गएपछि दक्षिणी भारतको एक अस्पतालमा ठूलो हङ्गामा भएको समाचार छ ।
उपचारका क्रममा दक्षिणी भारतको आन्ध्र प्रदेशस्थित एक सरकारी अस्पतालमा राखिएका ती शिशुलाई अस्पतालको श्ययामा नै मुसाले टोेकेको थियो ।
ती शिशुकी आमाका अनुसार मुसाले टोकेर नै उनको ज्यान गएको थियो । पिसावसम्बन्धी समस्याको उपचार गराइरहेका ती शिशुको मृत्यु मुसाले टोकेकै कारण भएको प्रमाणित भएको छ ।
सो घटनापछि सरकारी अस्पतालमा हुने गरेको चरम लापरबाहीका विरुद्धमा व्यापकमात्रामा अस्पताल प्रशासनको विरोध भएको छ ।
आन्ध्र प्रदेशको गुन्टुर सरकारी अस्पतालमा सो घटना भएको थियो । उक्त घटनापछि सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरी कारबाही सुरु गरिएको बताइएको छ ।
सरकारी अस्पतालमा यसअघि पनि व्यापकमात्रामा लापरबाही हुने गरेका गुनासाहरु आउने गरेका थिए । यस्तै समाचारहरुकै बीचमा दुई दिनअघि यो घटनाको समाचार आएको छ ।
त्यसैले यस पटक पनि त्यहाँ व्यवस्थापनपक्षबाटै लापरबाही भएकाले अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले व्यापक विरोध गरेका थिए ।
ती शिशुकी आमा चवली लक्ष्मीले नवजात शिशुको उपचार कक्षमा नै रहेका बेला उनको शिशुका हातका औँला गायब भएका र मुसाले नै खाइदिएकाले औँला हराएको जानकारी आफूले अस्पतालका कर्मचारीलाई दिएको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो– मैले पटक–पटक अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता नगरेपछि मुसाको टोकाइकै कारण मेरो बच्चाको निधन भएको हो ।
टेलिभिजन सम्वाददाताहरुलाई उहाँले भन्नुभयो– मेरो छोराको ज्यान यही अस्पतालकै कर्मचारीका कारण गएको हो, यहाँको लापरबाही डरलाग्दो रहेछ ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन् चन्द्रबाबु नाइडुले आफूले सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरेको र कारबाहीका लागि अनुसन्धान समिति पनि गठन गरेको जानकारी दिनुभयो ।
मुसाले नै टोकेर यसरी अस्पतालमा रहेका शिशुको ज्यान गएको जानकारी पाउँदा आफूलाई निकै दुःख लागेको मुख्यमन्त्री नाइडुले ट्वीटरमा पोष्ट गर्नुभएको छ ।
साथै उहाँले अबदेखि त्यस अस्पतालमा यस्तो दुर्घटना कहिल्यै नदोहोरिसो भन्नुभएको छ ।
सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन नचाहनुभएको समाचारमा जनाइएको छ ।