विमानस्थल नजिकका अग्ला घर ३ महिना भित्र हटाउन निर्देशन


२५ साउन, काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरपरका अग्ला भौतिक संरचनाहरु तीन महिना भित्र हटाउन संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । विमानस्थल नजिकको ८ तले घर र अन्य संरचनाहरु हटाउन सरकार, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास प्राधिकरण र काठमाडौं महानगरपालिकालाई समितिले निर्देशन दिएको हो । 



अन्तर्राष्ट्रिय विमानस्थल नजिक निर्माण भएका अग्ला भौतिक संरचनाहरुले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा उडान-अवतरण, स्तरोन्नति र गुणस्तरीय सेवा प्रवाहमा प्रभाव पारेको छ । पर्यटन मन्त्रालयका सचिव तथा सम्बद्ध पदाधिकारीहरुसँग छलफल पछि समितिको सोमबारको बैठकले भौतिक संरचनाहरु हटाउने सम्बन्धमा हालसम्म भएको कार्य प्रगति समितिमा उपलब्ध गराउन र यस्ता अवरोधहरु ३ महिनाभित्र समाधान गरिसक्न निर्देशन दिएको हो । 

बैठकले पर्यटन मन्त्रालयलाई विमानस्थलको स्तरोन्नति गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्न र स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्ने तर्फ समन्वयकारी भूमिका निर्वाह गरिदिन गृह मन्त्रालय र स्थानीय विकास मन्त्रालयलाई निर्देशनसमेत दिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिए । यस्तै अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती गर्न, आईकाओको मापदण्ड अनुरुपको बनाउन हालसम्म भएका काम, देखिएका समस्या र समाधानका लागि पुर्‍याउनु पर्ने सहयोगसम्बन्धमा विस्तृत विवरण उपलब्ध गराउन समितिले पर्यटन मन्त्रालय र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई निर्देशन दिइएको समिति सभापति अधिकारीले बताए । 

विद्यमान धावनमार्गको निरन्तर मर्मत संभार तथा धावनमार्गको विस्तार, ट्याक्सी वे तथा पार्किङ विस्तारको कामलाई निर्धारित समय भित्रै सम्पन्न गराउन र पार्किङ विस्तारको लागि आवश्यक पर्ने भनिएको थप १६ लाख घनमिटर माटो भर्ने काममा देखिएको समस्यालाई तत्काल समाधान गर्न पनि समितिले निर्देशन दिएको छ । 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न, २४ सै घण्टा सरसफाइमा ध्यानदिन, आन्तरिक सजावट गरी सौन्दर्यमा अभिवृद्धि गर्न तथा सानाम सिना चिजहरुमा समेत उचित ध्यान दिई नमूना विमानस्थल बनाउने तर्फ आजैबाट गम्भीरतापूर्वक कार्य सम्पादन गर्न समितिले पर्यटन मन्त्रालय र विमानस्थललाई निर्देशन दिएको छ । 





प्रतिक्रिया दिनुहोस्...