कलंकीमा यसरी पल्टियो पेट्रोल भरिएको ट्यांकर (भिडियो)


फोटो :कलंकीका दुर्इ पेट्रोल पम्पबीचमा पल्टिएको पेट्रोल ट्यांकर । तस्बिर : ध्रुबकुमार सिंह
काठमाडौं : आदिवासी जनजातिहरुले बन्द गरेको दिन आइतबार दिउँसो ट्यांकीभरी तेल बोकेको एउटा ट्यांकर थानकोटबाट तीब्र गतिमा कलंकीतर्फ आइरहेको थियो ।

करिब ४ बजे तीब्र गतिमा रहेको हजारौं लिटर पेट्रोलसहितको ना ५ ख २५१० नम्बरको ट्यांकरमा ड्राइभरले अचानक ब्रेक लगाउँदा सडकमा पल्टियो । ट्यांकर पल्टेपछि सडक र नजिकैको खोल्सामा पेट्रोलको खोलै बग्यो ।

पेट्रोल बग्न थालेपछि आगो लाग्ने डरले करिब २ घन्टासम्म कलंकी क्षेत्रका बासिन्दा र यात्रु आतंकित भए । ट्यांकर पल्टँदा मोटरसाइकलमा सवार एकजना र ट्यांकरमै सवार साझा पेट्रोल पम्पका कर्मचारी गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा कलंकीबाट थानकोट जाँदै गरेको बा६८४९९९ को मोटरसाइकल चालक सतुंगल निवासी ३४ वर्षीय सागर श्रेष्ठ र काठमाडौंको गौरीघाट निवासी साझा पम्पका कर्मचारी ४६ वर्षीय पुरुषोत्तम पौडेल छन् ।
घाइतेमध्ये सागरलाई उपचारका लागि कलंकीकै शहिद मेमोरियल अस्पतालमा भर्ना गरिएको छ । सोही अस्पतालमा भर्ना गरिएका पौडेललाई भने अस्पतालले रेफर गरेपछि पाटनस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएको छ । 

पौडेलको दुबै हात र खुट्टाको हड्डी भाँचिएकाले तत्तकाल अप्रेशनको तयारी गरिएको बी एन्ड बी अस्पतालका एक चिकित्सकले जानकारी दिए । उनका अनुसार पौडेलको अवस्था चिन्ताजनक छ ।
 

ट्यांककीभरी तेल बोकेको ट्यांकर डरलाग्दो गरी दुईवटा पेट्रोल पम्पबीचमा पल्टिएपछि आगो लाग्न नदिन स्थानीयबासी र सडकका यात्रुलाई प्रहरीले घटनास्थलबाट करिब सय मिटर परै रोकेको छ । 

महानगरी प्रहरी वृत्त कालिमाटीका अनुसार बन्दले खाली रहेको सडकमा तीब्र गतिमा आएको ट्यांकरलाई ड्राईभर दलबहादुर स्याङतानले अचानक ब्रेक लगाएका थिए ।
 
 
तीब्र गतिको ट्रकमा ड्राईभरले ब्रेक लगाउँदा ट्रक अनियन्त्रित हुँदै कलंकी चोकनिजकै पल्टेपछि पोखिएको पेट्रोल तत्कालै अर्को ट्यांकरमा हालिएको छ । ट्यांकर पल्टिएपछि तत्कालै घटनास्थलमा पुगेको प्रहरीले दुघर्टनास्थल आसपासमा सर्वसाधरणलाई जान निषेध गरेको छ ।
पल्टेको ट्यांकर उठाइनसेकाले कलंकी थानकोट सडकमा यातायातसमेत अबरुद्ध हुन पुगेको छ  । सडकभरी तेल पोखिएपनि दुईवटा पेट्रोल पम्पबीचमा भएको दुर्घटनामा आगो नलाग्दा ठूलो दुर्घटना टरेको छ ।






प्रतिक्रिया दिनुहोस्...