कति छ कुमार घैंटेको सम्पत्ति ?घैंटेको सम्पत्ती छानबिन गर्दै प्रहरी
काठमाडौं, भदौ ५ – इन्काउन्टरबाट बिहीबार मारिएका डन कुमार घैंटे भनिने कुमार श्रेष्ठको प्रहरीले सम्पत्ति छानबिन थालेको छ । गुन्डागर्दीलगायत अवैध गतिविधिबाट उनले करोडौं सम्पत्ति जम्मा गरेको सूचनाका आधारमा प्रहरीले छानबिन सुरु गरेको हो ।
घैंटेको अवैध सम्पत्तिको छानबिन सुरु भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । प्रहरीले उनका सहयोगी र आफन्तको समेत सम्पत्ति छानबिन गरेर कारबाहीका लागि प्रतिवेदन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । प्रहरीलाई प्राप्त विवरणअनुसार घैंटेसँग २० करोडभन्दा धेरै सम्पत्ति छ । गजुरमुखी कन्ष्ट्रक्सन नामक ‘क’ वर्गको कन्ष्ट्रक्सन कम्पनीका उनी मालिक हुन्, जसमा कांग्रेस नेता जगदीश्वरनरसिंह केसी पनि साझेदार छन् । सोही कम्पनीबाट घैंटेले राजनीतिक पहुँच र गुन्डागर्दीका आधारमा ठूला ठूला सरकारी ठेक्काहरु हात पार्दै आएका थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।