सुर्खेतमा गोली लागेर दुईजनाको मृत्यु, आठजना अस्पतालमा
फोटो :गोली लागेर ढलेका एक घाइतेलाई अस्पताल लगिँदै
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीको गोली लागेर दुईजना प्रदर्शनकारीको ज्यान गएको छ।
अखण्ड मध्यपश्चिमको माग राख्दै बिहानदेखि सुरु प्रदर्शनमा झडप भएपछि प्रहरीले चलाएको गोली लागेर दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा वीरेन्द्रनगर–४ निवासी टिकाराम गौतम र यामबहादुर बिसी छन्। गोली लागेर ढलेका दुवैलाई उपचारका लागि लैजादै गर्दा ज्यान गएको हो।
प्रदर्शनकारीको भीडले कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गरेछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर अन्य ८ जना गम्भीर घाइते भएका छन् । जसमा ४ जनाको छातीमा गोली लागेको छ र अरुको टाउको एवं अन्य भागमा चोट लागेको छ।
अहिले सुर्खेत बजार वीरेन्द्रनगरको अवस्था तनावपूर्ण छ। सुरक्षाकर्मीमाथि लक्षित गरेर प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् भने प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरिरहेको छ।
आन्दोलन उग्र भएपछि स्थानीय प्रशासनले लगाएको कफ्र्यूकाबीच प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेशकुमार लाल कर्ण सवार सरकारी गाडी जलाइदिएका छन् ।