सुर्खेतको झडपमा पत्रकारलाई पनि गोली लाग्यो, ४ जनाको अवस्था गम्भिर
सुर्खेत, साउन २५ – मध्य पश्चिम क्षेत्रलाई टुक्राइएको भन्दै विरोधमा उत्रिँदा भएको झडप हिसांत्मक बन्दै गएको छ । स्थितिलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जना एमाले कार्यकर्ता टिकाराम गौतमको निधन भइसकेको छ भने प्रहरीसँगै दर्जनौं घाइते बनेका छन् । स्थितिलाई नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले कफ्र्यु लगाए पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमका अनुसार पछिल्लो कफ्र्यु लागेपछि स्थिति केही नियन्त्रण भएको बताए । यद्यपि, कांग्रेस नेता पूर्णबहादुर खड्काको घर आसपासको क्षेत्रमा प्रदर्शनकारी जम्मा भइरहेको र त्यहाँ अझै स्थिति तनावपूर्ण रहेको उनले जानकारी दिए । उनले हाल प्रहरीतर्फ एक दर्जनभन्दा बढी घाइते रहेको बताए । सुर्खेतका स्थानीय पत्रकार गणेश कञ्चन भारतीका अनुसार आजको झडपमा पत्रकारसमेत घाइते बनेका छन् । गोली लागेका पत्रकार आइसिंह रोकायलाई क्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । नेपालगञ्ज सम्म पुर्याउन एम्बुलेन्स नभएपछि उनको त्यहीँ उपचार भइरहेको उनले जानकारी दिए । उनले त्यहाँ हालसम्म सयौं राउण्ड गोली चलेको दाबी गरेका छन् र अहिले पनि गोली चलिरहेको बताए । यद्यपि, प्रजिअ गौतमले भने अहिले गोली नचलेको बताए । हालसम्म ८ जना घाइते रहेकोमा ४ जनाको स्थिति गम्भिर रहेको बताइएको छ ।