पैसाको साउँ-ब्याज माग्दा श्रीमती ताकेपछि हत्या !
भदौ, काठमाडौं । एमाओवादी नुवाकोटका नेता राजेश्वर मोक्तान तामाङको यसै साता हत्या भयो । उनको हत्यामा राजनीतिभन्दा पनि पैसा र महिलाको विषय जोडिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
ब्याजमा लगेको रकम माग्दा साहुकै श्रीमती ताकेपछि तामाङको हत्या भएको खुलेको छ । नुवाकोटको उर्लेनी गाउँ कमिटीका एमाओवादी सचिव रहेका तामाङको साउन २० गते काठमाडौं ताकेश्वर नगरपालिका ५ भेडीगोठस्थित सीमखेतमा हत्या भएको थियो ।
महानगरीय प्रहरीले अपराध महाशाखाले राजेश्वरको हत्या अरोपमा अमर भन्ने ध्रुबबहादुर स्याङ्तानलाई पक्राउलाई गरेको छ ।
राजेश्वर साउन २० गते राहतसम्वन्धी कागजात बुझाउनुछ भन्दै काठमाडौं हिँडेका थिए । उनी त्यही बेलुकादेखि सम्पर्कविहीन भएका थिए ।
प्रहरी अनुसन्धानका क्रममा मृतक राजेश्वरले ध्रुवले श्रीमती सीता थिङलाई पठाएको २ लाख रुपैयाँ ब्याजमा चलाएको खुलेको छ । काठमाडौंमा मिस्त्री काम गर्ने ध्रुवले गाउँमा रहेकी श्रीमतीलाई पठाएको रकम राजेश्वरले ब्याजमा चलाएका हुन् ।
त्यसबेला राजेश्वर र ध्रुवकी श्रीमतीबीच अनैतिक सम्वन्ध रहेको हल्लासमेत गाउँमा चलेको थियो ।
गत साउन पहिलो साता ध्रुवकी श्रीमतीले राजेश्वरसँग आफूले दिएको रकम मागेकी थिइन् । तर, राजेश्वरले आफूसँग भागी विवाह नगरे पैसा दिन्न भनेको र बलात्कार गर्ने मनसायले उनको घाँटी समातेर लडाएको सीताले पति ध्रुवलाई सुनाए ।
त्यही विषयलाई लिएर ध्रुव र राजेश्वरबीच फोनमा भनाभन भएको थियो । राजेश्वरले काठमाडौं आउँदैछु भनेपछि ध्रुवले मार्छु भन्दै खुकुरी बोकेर हिँडेको पाइएको छ ।
काठमाडौं आएका राजेश्वर र ध्रुवबीच माछापोखरीमा भेट भएको र जम्बो हाइस गाडी चढेर काभ्रेस्थलीतर्फ हिँडेका थिए । काभ्रेस्थलीको भेडीगोठमा झरेर उनीहरु एकान्तमा गए ।
राजेश्वरले जे हुनु भैगो, म तेरो श्रीमतीलाई राख्न परे पनि राख्छु तर, पैसा तिर्दिन भनेपछि विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ध्रुबले भने ‘आफ्नी श्रीमतीलाई जे गर्छस् गर तर, मजदुरी गरी कमाएको पैसा चाहिन्छ’ भनेपछि झगडा भएको थियो । विवादकै क्रममा ध्रुवले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।