चौकी आक्रमण भएपछि गोली चलेको हो : प्रजिअ याद
‘साँझमा भएको विवाद विहानसम्म साम्य भइसकेको थियो, प्रजिअ यादवले अनलाइनखबरसँग भने, ‘तर बिहान एकाएक प्रहरी कार्यालयमा आक्रमण भयो, भित्तामा गोलीले प्वालै पारेको छ । झ्यालसमेत फोर्न थालिएपछि प्रहरीले प्रतिरक्षा गर्न बाध्य भएको हो ।’
आन्दोलनकारी दलहरुले सहमति गरिसकेको घटनामा घुसपैठ गरेका तत्वहरुले चौकीमाथि आक्रमण गरेको हुन सक्ने भन्दै प्रजिअ यादवले यसमा आन्दोलनकारी दलहरुले सचेत हुनुपर्ने बताए ।
उनले भने- ‘आफ्नो आन्दोलनमा घुसपैठ भएको उहाँहरुले पनि महसुस गर्नुभएको छ,’ घटना साम्य भइसकेको अवस्थामा चौकीमा सशस्त्र आक्रमण हुनु उहाँहरुले पनि नसोचेको विषय हो ।’
शान्तिपूर्ण आन्दोलनहरुमा घुस पैठ गरेर गलत तत्वहरुले खेल्न खोजिरहेको र हिंसा भड्काउने प्रयास गरेको भन्दै प्रजिअ यादवले सबैलाई संयमित रहन आग्रह गरेका छन् । उनले मिडिया र नागरिक समाजलाई पनि संयम अपनाउन र वातावरण साम्य पार्न भूमिका खेलिदिन आग्रह गरेका छन् ।
‘मैले दलहरुलाई पनि आग्रह गरिरहेको छु र मिडिया एवं नागरिक समाजका साथीहरुलाई पनि आग्रह गरेको छु,’ प्रजिअ यादवले अनलाइनखबरसँग भने, ‘हिंसा भड्किन नदिने र शान्ति कायम गर्ने जिम्मेवारी हामी सबैको हो, यस्तो बेलामा मिडिया र नागरिकहरुले पनि संयम अपनाउन जरुरी हुन्छ ।’
प्रशासनको दाबी गलत हो : मनिष सुमन
यसैबीच आन्दोलनकारी मधेसी मोर्चामा आवद्ध सदभावना पार्टीका महासचिव मनिष सुमनले भने प्रहरी प्रशासनको दाबी गलत भएको अनलाइनखबरलाई बताए ।
‘पुलिसले बोलेको कुरा झुटो हो’ राजबिराजमा रहेका सुमनले भने-‘शान्तिपूर्णरुपमा सडक जाम गरेर बसेका बेला प्रहरी आएर हट भन्यो र पिट्न थाल्यो । झडप भएपछि छातीमा ताकेर गोली हानेको छ ।’ उनले अघि भने-‘गोली चलाउनुअघि पानीको फोहोराले हान्ने, अश्रुग्यास हान्नेसहितका १७ वटा उपाय हुन्छन् तर, प्रहरीले सबै उल्लंघन गरेको छ, यो कारबाही होइन हत्या हो ।’
प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली हानेको उनले आरोप समेत लगाए ।
तर, सोमबार साँझ भएको झडपका क्रममा आन्दोलनकारीले एउटा ट्रकमा आगो लगाउनुका साथै प्रहरीको एउटा गाडी तोडफोड गरेको उनले स्वीकार गरे । महासचिव सुमनले भने-‘हिजो प्रहरीको गाडीमा तोडफोड भएको हो । तर, हिजोको घटनालाई लिएर आज बिहान आएर गोली हान्ने काम भएको छ ।’
मधेसी मोर्चाले घटनाको छानविन गर्नुपर्ने, गोली हान्ने र आदेश दिने प्रहरीलाई कारबाही गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गरी पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र अगाडिका दिनमा यस्ता घटना नहुने प्रतिवद्धता दोहोर्याउनुपर्ने माग गरेका छन् ।
माग पूरा नभएसम्म मृतकको शव नबुझ्ने र आन्दोलन चर्काउँदै लैजाने सदभावना महासचिव सुमनले बताएका छन् ।