मध्यपश्चिम बन्दले जनजीवन कष्टकर
सुर्खेत, श्रावण २९ । अखण्ड मध्यपश्चिमको माग सहित पांच दिन देखिको बन्दले भेरी अञ्चलका जिल्लाहरुको दैनिकी कष्टकर बनेको छ ।
बन्दका कारण सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्ला बढी प्रभावित भएका छन् ।
सुर्खेतको बीरेन्द्रनगर क्षेत्रमा स्थानीय प्रशासनले संभावित प्रदर्शनलाई ध्यानमा राख्दै
बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरीको परिचालन जारी राखिएको छ ।
सुर्खेतमा यातायात, शैक्षिकसंस्था, कलकारखाना र बजार ठप्प हुंदा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ ।
मध्यपश्चिमलाई अखण्ड राख्नुपर्ने र छुट्टै प्रदेश बनाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनमा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, होटल ब्यवसायी संघ, गैरसरकारी संस्था महासंघका साथै राजनीतिक दलहरु समेत सहभागी जनाएपनि आन्दोलन हिंसात्मक बन्दै गएको छ ।
बन्दको पहिलो दिनमै भएको झडपमा प्रहरीको गोली लागेर यहां तीन जनाले ज्यान गुमाइसकेका छन् ।
उता, दैलेख र जाजरकोटमा पनि यातायात संचालन हुन सकेको छैन भने बजार र शैक्षिकसंस्था ठप्प बनेको छ ।
