लिभरपुलको लगातार दोस्रो जित


इङ्लिस प्रिमियर लिग
लन्डन: इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित हात पारेको छ। लिभरपुलले सोमबार राति भएको आफ्नो दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी बर्नमाउथमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो। उक्त खेलसँगै प्रिमियर लिगमा सबै टोलीले दुईदुई खेल सकेका छन्।
 
लिभरपुलको जितमा क्रिस्टियन बेनटेकले निर्णायक गोल गरे। घरेलु मैदानमा खेल सुरु भएको २६ औं मिनेटमा बेनटेकले गरेको गोल नै लिभरपुललाई थप तीन अंक दिलाउन पर्याप्त भयो। 
 
बेनटेकले प्रिमियर लिगमा लिभरपुलका लागि गरेको यो पहिलो गोल हो। उनी यसै सिजन लिभरपुलमा आबद्घ भएका हुन् । बर्नमाउथ यसै सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब हो।
 
बेल्जियन स्ट्राइकर बेनटेकले खेलको अन्तिम मिनेटमा पनि गोल गर्ने एउटा गतिलो अवसर खेर फालेका थिए। उनले आफ्ना साथीबाट पाएको पासलाई नियन्त्रणमा लिँदै डीबक्स नजिकैबाट विपक्षीको पोस्टमा गरेको सशक्त प्रहार क्रसबारमा ठोक्किएको थियो। 
 
उनले नयाँ क्लबको जितमा निर्णायक भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। ‘लिभरपुलमा मेरो सकारात्मक डेब्यु भयो । आगामी दिनमा पनि क्लबलाई सफलता दिलाउन सक्दो प्रयास गर्नेछु’, उनले भने।
 
बर्नमाउथको भने यो लगातार दोस्रो हार हो। बर्नमाउथका प्रशिक्षक एडी होउले लगातार दोस्रो हार भोग्नु निराशाजनक रहेको बताए। 'हार भनेको हार नै हो, विभिन्न तर्क गरेर यसलाई ढाकछोप गर्नुको कुनै फाइदा छैन', खेलपछि उनले भने।
 
दुई खेलको समाप्तिपछि बर्नमाउथ अंकतालिकाको १९औं स्थानमा छ । बर्नमाउथभन्दा तल सन्डरल्यान्डमात्र छ।म्यानचेस्टर सिटी ६ अंकसहित लिग तालिकाको पहिलो स्थानमा छ। 
 
समान अंक भए पनि गोल अन्तरका आधारमा लिसेस्टर सिटी दोस्रो, लिभरपुल तेस्रो र म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छन्। एभर्टन भने चार अंकसहित तालिकाको पाँचौं स्थानमा आसिन छ। समान अंक भए पनि स्वान्सी सिटी छैटौं स्थानमा छ।






प्रतिक्रिया दिनुहोस्...