कार्यकर्ताबाट लखेटिए मधेसी मोर्चाका नेता


काठमाडौं, १५ भदौ - मधेसमा छुट्टै प्रदेशको माग राख्दै आन्दोनलमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आफ्नै कार्यकर्ताबाट लखेटिएका छन् । संयुक्त मधेसी मोर्चाको आह्वानमा सोमबार बारा सदरमुकाम कलैयामा आयोजित लाठी जुलुस प्रदर्शनका क्रममा मोर्चाका केन्द्रीय नेता तथा तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल कार्यकर्ताबाटै लखेटिएका हुन् । उनलाई प्रदर्शनकारीले लाठी प्रहार गरी घाइते बनाएका छन् । 



सदरमुकाम कलैयास्थित अदालत रोड हुँदै भरतचोक पुगेको जुलुसमा सहभागी प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने खोज्दा रोक्ने प्रयास गरेपछि मधेसी नेताहरु आफ्नै कार्यकर्ताको आक्रमणमा परेका हुन् । कार्यकर्ताको आक्रमणमा संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवको हात भाँचिएको छ । फोरम नेपालका केन्द्रीय सदस्य रामबाबु यादवलगायतलाई पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । जुलुसपछि कोणसभाका लागि बनाइएको मञ्च समेत केही प्रदर्शनकारीले भत्काइदिएका छन् । प्रदर्शनमा सहभागी अधिवक्ता अरुण दुबेले भने, ‘केही प्रदर्शनकारीले नेतालाई लाठी प्रहार गर्दै निषेधित क्षेत्र तोड्ने कोसिस गरे, नेताले नमानेपछि उनीहरूले मञ्च भत्काइदिए ।’ 

कलैयामा गोली चल्यो 

यस्तै, संयुक्त मधेसी मोर्चा र प्रहरीबीच आज दिउँसो यहाँ झडप भएको छ । झडपमा प्रहरीले चलाएको रबरको गोली लागेर केही आन्दोलनकारी घाइते भएका छन् । मधेस बन्दको आज १७ औँ दिन दिउँसो कलैयाको भरत चोकमा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको बताइएको छ । घाइते आन्दोलनकारीको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ । अहिले कलैयाको अवस्था तनावग्रस्त छ । प्रहरीतर्फ २ लाई सामान्य चोटपटक लागेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताउनुभयो ।

श्रोत : दैनिक नेपाल डट कम 





प्रतिक्रिया दिनुहोस्...