आमीर र पारसले ‘सुनौला हजार दिन’को शुभारम्भ गर्ने


नेपाल जापान डट कम सम्बाददाता- भारतमा आमीर खान जत्तिकै चर्चा र सर्वाीधक रुचाइएका नेपाली सेलिब्रेटी क्रिकेट कप्तान पारस खड्का र आमीर खान दुबैले एकसाथ बिहिबार पोषण सम्बन्धी एक कार्यक्रमको औपचारिक आरम्भ गर्नेछन् । युनिसेफका दक्षिण एसियाली सद्भावना दूत आमिरले युनिसेफका नेपाल सद्भावना दूत नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासंग मिलेर सुनौला हजार दिन नामक सरकारी कार्यक्रमको औपचारिक सुरुआत गर्नेछन् । यो कार्यक्रम बालबालिका र गर्भवती महिलाको कुपोषण हटाउन सरकारले सञ्चालनमा ल्याएको हो । पोषणमार्फत् मातृ तथा बाल मृत्युदर घटाउन सरकारले देशका १५ जिल्लाका २ सय १२ गाविसमा सुनौला हजार दिन कार्यक्रम सञ्चालनमा ल्याएको छ । गर्भवती भएको दिनदेखि बच्चा दुई वर्ष पूरा नहुन्जेल विशेष पालनपोषणका लागि सुनौला हजार दिन कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमले बालबालिकाको पालनपोषण र मानसिक विकासमा विशेष जोड दिएको छ । सरकारले पहिलो चरणमा सुनसरी, सप्तरी, खोटाङ, ओखलढुंगा र उदयपुरमा यो कार्यक्रम सञ्चालन गरेको थियो। दोस्रो चरणमा सिन्धुली, रामेछाप, सिरहा, धनुषा र महोत्तरी तथा तेस्रो चरणमा सर्लाही, रौतहट, बारा, पर्सा र मकवानपुरमा कार्यक्रम सुरु भइसकेको छ । यो कार्यक्रम आर्थिक वर्ष २०६९र७० मा सिन्धुली जिल्लाबाट नमूनाका रूपमा सुरु भएको थियो । यसमा आमा र बच्चाको स्वास्थ्यमा पूर्ण रेखदेख गरिनेछ। बच्चा जन्मेको ६ महिनापछि थप पौष्टिक आहार दिइनेछ । कार्यक्रमअन्तर्गत नियमित दैनिक एक–एकवटा अन्डा वितरण र हरियो सागसब्जी खुवाउने अभ्यासमा जोड दिइएको छ । शिशु खानेकुरा, स्तनपान, पौष्टिक आहार दिनेलगायत पनि छन् ।




प्रतिक्रिया दिनुहोस्...