ठमेलको दुर्दशा : विदेशी पर्यटक भन्छन्- ‘यस्तो पनि राजधानी!’
काठमाडौं-बिहीबार दिउँसो २ बजे ठमेलबाट लैनचौरतर्फ आउँदै गरेका जर्मनी फ्य्राङ्कफर्टका दुई पर्यटक अस्कल क्याम्पस नपुग्दै एक्कासि रोकिए। मुखमा मास्क लगाएका उनीहरुले केही मिनेट अस्कलतर्फको सडक नियाले। क्यामेरामा तस्बिर कैद गरे र अस्कल क्याम्पसपारिको सडक हुँदै लैनचौरतिर लागे। सोझो बाटो हुँदाहुँदै उनीहरुले सडक पार गर्नुको एउटै कारण थियो– सडकको हालत। ठमेलबाट लैनचौरतर्फ जाने क्रममा अस्कल क्याम्पस अगाडि जताततै हिलो र माटोको थुप्रो छ। पैदलयात्री हिँड्नै नमिल्ने उक्त सडकमा कतै पानी जमेको छ त कतै खाल्डाखुल्डी। सडक र फुटपाथको त्यस्तो दुरवस्थाको समेत पर्वाह नगरी हिलो छिचोल्दै हिँडिरहेका केही नेपाली देखेपछि उनीहरुले तस्बिर खिचेका थिए। तिनले मुखमा मास्क लगाउनुको कारण थियो– सवारी गुड्ने सडकबाट उडिरहेको बुङबुङ धुलो। सडकको अर्कातर्फ केही मात्रामा ग्राभेल गरिएकाले हिलो छल्दै हिँड्न मिल्ने ठाउँ छ। दुई साताअघि नेपाल घुम्न २९ वर्षिय एडलस्टनले राजधानीकै सडकको अवस्था देखेर क्यामेरामा तस्बिर कैद गरेको बताए। ‘यो पनि राजधानीको सडक हुन्छ?' उनले प्रतिप्रश्न गर्दै भने, ‘कम्तीमा पैदलयात्री हिँड्ने बाटो त राम्रो हुनुपर्छ। पैदलयात्रीलाई समेत हिँड्ने ठाउँ नदिई कसरी अलपत्र छाड्न सकेको!' उनले उक्त सडक कति समयभित्र बन्छ भनेरसमेत चासो व्यक्त गरे। एडलस्टन र उनका साथी एल्ड्रिकले मात्र होइन, विदेशबाट आएर ठमेल क्षेत्रमा बस्ने अधिकांश पर्यटकले यतिबेला उक्त सडकको दुरवस्था सामना झेलिरहेका छन्। ‘दैनिक ५० भन्दा बढी पर्यटकले यो सडक किन यस्तो अलपत्र पारेको भनेर प्रश्न गर्छन्,' ठमेलका स्थानीय महेश महर्जनले नागरिकसँग भने, ‘विदेशीसामु इज्जत राख्न पनि सडक छिट्टै बन्छ भन्दै आइरहेका छौं। तर डेढ वर्षदेखि सडकको हालत यस्तै बिजोक छ।' उनले सडक छिटो बनाउन पटकपटक आग्रह गर्दा समेत निर्माण अघि नबढेको दुखेसो गरे। लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँबजार हुँदै बालाजु चोकसम्म पुग्ने उक्त सडक विस्तारका लागि भत्काइएको एक वर्षभन्दा बढी भइसकेको छ। पहिला १० मिटर चौडा उक्त सडक अहिले विस्तारपछि १८ मिटर बनाइएको छ। जसमा दुवैतर्फ दुईदुई मिटरका फुटपाथ र सडक १४ मिटर चौडा बनाइएको छ। फुटपाथको चौडाइ भने स्थानअनुसार केही कमसमेत बनाइएको छ। तर, सडक चौडा बनाएपछि कालोपत्रे गर्नतर्फ ध्यान नदिँदा सडक बेहाल बन्न पुगेको छ। सडक विभागका प्रवक्ता अर्जुन थापाका अनुसार विस्तारका लागि भत्काएलगत्तै कालोपत्रे गर्ने योजना भए पनि मेलम्ची खानेपानीले पाइप बिछ्याउने भनेपछि निर्माण रोकिएको हो। ‘हामीले त बनाउने भनेर काम अघि बढाएका थियौं,' उनले भने, ‘तर निर्माण गरेको केही समयपछि पुनः मेलम्चीले भत्काउने अवस्था आउने देखिएपछि केही समय रोक्नुपरेको हो।' उनले मेलम्ची खानेपानीले पाइप बिछ्याउने काम सकेलगत्तै सडक कालोपत्रे गरिने बताए। मेलम्ची खानेपानी र सडकले काममा ढिलाइ गर्दा विदेशी पर्यटकले दैनिक फेस गर्नुपर्ने सडकमार्फत विदेशमा समेत नकारात्मक सन्देश जाने स्थानीय बताउँछन्। स्थानीयले यो विषयमा सडक निर्माणको जिम्मेवारी पाएको निकाय डिभिजन सडक कार्यालय काठमाडौंमा समेत पटकपटक गुनासो गरेका छन्। डिभिजन कार्यालयले स्थानीयलाई मेलम्ची खानेपानीले काममा तीव्रता नदिँदा समस्या परेको बताउँदै आएको स्थानीय सुमन जोशीले बताए। ‘हामीले त दुःख पायौं तर पर्यटकमार्फत नेपालको विषयमा नकारात्मक सन्देश गयो भनेर बनाउन आग्रह गरेका थियौं,' उनले भने, ‘तर सडकले मेलम्चीलाई दोष दिइरहेको छ।' विभागका प्रवक्ता थापाले सडकको दुरावस्थाले पर्यटकमा गलत सन्देश गएकाले खानेपानीसँग समन्वय गरेर छिटो सडक बनाइने बताए। ‘यो विषयमा हामी गम्भीर छौं,' उनले भने, ‘तुरुन्त सबैसँग छलफल गरेर कामलाई तीव्रता दिनेछौं।' उनले उक्त खण्डको काम आगामी असारभित्र पूरा गरिसक्ने बताए। -