थाइल्यान्डमा अपहरणमा परेका ३ नेपाली विद्यार्थी मुक्त


काठमाडौं, पौष ९ । थाइल्यान्डको राजधानी बैंककबाट यही पौष ५ गते  अपहरणमा परेका ३ जना नेपाली विद्यार्थीहरुलाई थाइ प्रहरी र नेपाल प्रहरीले सकुशल मुक्त गरेका छन् ।

बैंककको रेस्टुरेन्टमा खान गएको बेला अपहरणमा परेका रोनेश श्रेष्ठ, कर्ण हाछेथु र विभुष रिजाललाई मुक्त गरिएको हो ।

अपरहणमा संलग्न थाइ नागरिक उकास रहमान, मोहोमद जरीर तथानेपाली नागरिक सुजन यादव भनिने श्रीचन राय पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बताएको छ ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआइबीले नेपाली विद्यार्थीहरु अपहरणपछि थाइ प्रहरीसँग मिलेर संयुक्त अप्रेसन चलाएको बताएको छ । अपहरणकारीले ती विद्यार्थीको परिवारसँग एक–एक करोड रुपैयाँ फिरौती मागेको र श्रीचन यादवले नेपालबाट फिरौती उठाएर बैंकक पठाउने जिम्मा लिएको पनि सीआइबीले जनाएको छ ।

अपहरणका मुख्य योजनाकारसहित केही दोषीहरु फरार रहेको पनि प्रहरीले जनाएको छ । 





प्रतिक्रिया दिनुहोस्...