३७ विगाहमा लगाएको लागुऔषध गाँजा नष्ट


ओएस नेपाल, हेटौँडा, १९ मंसिर । मकवानपुरको गाँजा खेती भैरहेको उत्तरपश्चिम क्षेत्रमा गाँजा फँडानी गर्न गएको टोलीले आज मात्रै ३७ विगाह एक कठ्ठामा लगाएको लागुऔषध गाँजा नष्ट गरेको छ ।Gazza
ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक मोहनप्रसाद अधिकारी नेतृत्वको प्रहरी टोलीले  कालिकाटार २, ३ र ५ नम्बर वडामा ११ बिगाह, ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक हरिनन्दन चौधरी नेतृत्वको प्रहरी टोलीले राक्सिराङ गाविस वडा नम्बर ३ र ४  मा २३ बिगाह गाँजा तथा १ कठ्ठा अफिम तथा नेपाल प्रहरीको लागुऔषध ब्यूरोबाट प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठ नेतृत्वको प्रहरी टोलिले विभिन्न स्थानमा लगाइएको करिब ३ बिगाह गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । केही दिनदेखि मकवानपुरको उत्तर तथा पश्चिमी क्षेत्रमा गाँजा फँडानीको निम्ति प्रहरीको करिब एकसय ५० जनाको संयुक्त टोलि त्यस तर्फ गएको छ ।
प्रहरीले अवैध रुपमा लगाएको गाँजा फडानी गरिरहेको बेला मकवानपुरको राक्सिराङ गाविसमा गाँजा फडानी गर्न गएको टोलिले नगद तीन लाख रुपैयाँ लिएर गाँजा फडानी नगरेको भन्दै अख्तियारमा उजुरी परेको छ । राक्सिराङ ३ का ५० बर्षीय सुकमान घलानले गाँजा फडानीको क्रममा मनलाग्दी गरेको र घुस लिएर केही व्यक्तिको बारीमा लगाएको गाँजा प्रहरीले फडानी नगरेको भन्दै प्रहरीको बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडामा उजुरी गरेका हुन् ।
प्रहरीलाई तीनलाख रुपैंया घुस दिएका राक्सिराङ गाविसका ८ जना र गाँजा फडानी गर्न गएको ५३ जनाको प्रहरीको टोलीबिरुद्ध घलानले सत्यतथ्य छानबीन एवम् कारबाही गरी पाउँ भन्दै मध्य क्षत्रीय प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समेत निवेदन दर्ता गराएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी दीपक थापाले भने घलानले दिएको उजुरीमा कुनै तुक नभएको प्रतिक्रिया दिए ।  फडानी गर्ने क्रममा कतै छुटेको हुनसक्ने भएपछि प्रहरीको टोलीले जानाजान त्यसो गर्नै नसक्ने उनको भनाई थियो ।
- See more at: http://www.osnepal.com/37-bigako-gaja-nasta/#sthash.zvl0kwse.dpuf




प्रतिक्रिया दिनुहोस्...