भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास बिहीबार थालिने
रूपन्देही : गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शिलान्यास बिहीबार गरिने भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले भव्य समारोहबीच शिलान्यास गर्ने कार्यक्रम तय भएको परियोजना प्रमुख मुरारी भण्डारीले जानकारी दिए।
चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले यसको निर्माणको जिम्मेवारी पाएको छ। निर्माण कार्य सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्नुपर्ने सर्त छ।
६ अर्ब २२ करोड रुपैयाँमा यसको निर्माण गरिनेछ। निर्माता कम्पनीले यसको लागत ६ अर्ब ३० करोड रुपैयाँ अनुमान गरेको छ। यसका लगानीकर्ता एसियाली विकास बैंक (एडीबी), पेट्रोलियम पदार्थ विक्रेता राष्ट्रहरूको समूह ओपेकको अन्तर्राष्ट्रिय सहयोग नियोग (ओएफआईडी) र नेपाल सरकार छन्।
यसका लागि एडीबीले पाँच करोड ८५ लाख अमेरिकी डलर र ओएफआईडीले एक करोड ५० लाख डलर ऋण एवं अनुदान उपलब्ध गराउने भएका छन्। आंशिक योगदान निर्माता कम्पनीले पनि गर्ने भएको छ।
स्तरोन्नतिपछि यो विमानस्थल तीन हजार मिटर रनवे क्षमताको हुनेछ। २०१८ मा व्यावसायिक सञ्चालनपछि स्वदेशी र विदेशी गरी वार्षिक साढे चार लाख पर्यटकले लुम्बिनी भ्रमण गर्ने सर्वेक्षण छ। क्रमश: १० वर्षमा यो संख्या बढेर १० लाख पुग्ने सर्वेक्षण छ।
सन् २०३० मा दोस्रो चरणको विस्तार गरी वार्षिक ६० लाख पर्यटकको भार थेग्न सक्ने बनाउने योजना छ। पहिलो चरणमा नयाँ रनवे, निकास, समानान्तर ट्याक्सी मार्ग र पैदलमार्ग, एयरक्राफ्ट पार्किङ, ढल, सुरक्षा पर्खाल, घाघरा खोलाको डाइभर्सन आदि पूर्वाधार निर्माण गरिने छ।
१० वर्षपछि गरिने दोस्रो चरणको स्तरोन्नतिपछि वार्षिक ६० लाख पर्यटक धान्न सक्नेछ। यो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा १५ लाख बढी भएको आयोजना प्रमुख भण्डारीले बताए।
एडीबीले लुम्बिनी क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागिसमेत अलग्गै योजना सञ्चालन गर्ने कार्यक्रम पनि भएको बताइएको छ। बुद्धको जीवनीसँग सम्बन्धित रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला एव पाल्पा जिल्लालाई समेत समेटेर विश्व शान्ति सहरका रूपमा पर्यटकीय प्रवद्र्धन गर्ने कार्यक्रम तय भएको छ।
पछिल्लो चरणमा यहाँ ठूलाठूला होटेल रेस्टुरेन्ट खोल्ने क्रम बढेको छ। अस्ट्रेलियाको सिल्भर हेरिटेज लिमिटेडले भैरहवामा तीन अर्ब लगानीमा पाँचतारे होटेल निर्माण गरिरहेको छ। यसले मणिग्राममा १६ बिघा क्षेत्रफलमा गल्फ र क्यासिनोसमेत निर्माण गरिरहेको छ। यो होटेल २०१६ मा सञ्चालनमा ल्याउने कार्यक्रम छ।
रूपन्देहीमा औद्योगीकरणले पनि तीव्रता लिएको छ। केही समयअघि भैरहवा विशेष आर्थिक क्षेत्र सेजको उद्घाटन भयो। ६० करोडभन्दा बढी लगानीमा सम्पन्न हुने यो सेजमा ६८ वटा निर्यातमूलक उद्योग स्थापना गरिनेछन्।
यस्तै बुटवलमा एक अर्ब बढी लगानीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्यको टेन्डर भएको छ। बुटवलदेखि भैरहवासम्मको तिनाउ नदी उकास क्षेत्रमा विशाल औद्योगिक क्षेत्र स्थापना गर्न डीपीआर गरिँदैछ।
बुटवल-भैरहवाको सडक ६ लेन बनाउने काम तीव्र गतिमा चलिरहेको छ। एडीबीको सहयोगमा बुटवल र भैरहवा नगरलाई स्तरोन्नति गरी मझौला सहरको रूपमा विकास गर्न खानेपानी र वातावरण सुधारसम्बन्धी परियोजना सञ्चालन गरिएका छन्।