न्यायाधीश बमको हत्या ‘फैसलामाथिको बदलाको भावना’ले गरेको खुलासा (भिडियोसहित)


चुरेभावर पार्टीका पूर्वउपाध्यक्षसहित ४ जना पक्राउः काठमाडौं, पौष १९ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्याको साढे दुई वर्षपछि प्रहरी अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको छ ।

नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालले शनिबार नक्सालस्थित प्रहरी मुख्यालयमा गरेको पत्रकार सम्मेलनमा हत्यामा संलग्न ५ जनामध्ये ४ जनालाई सार्वजनिक गरिएको हो । चुरेभावर एकता पार्टीका पूर्वउपाध्यक्ष बाबु थापाले आफ्नो पार्टीलाई मान्यता नदिने गरी सर्वोच्च अदालतबाट न्यायाधीश बमको एकल इजलासले गरेको फैसलाको प्रतिशोधको रुपमा उनको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न ५ मध्ये हत्याका मुख्य योजनाकार बाबु थापा, शिव भनिने करण चौधरी, नवीन भनिने प्रेमराज खड्का र दीपक कर्णलाई पक्राउ गरेको हो । न्यायाधीश बममाथि गोली प्रहार गर्ने व्यवसायिक ‘सुटर’ भगवान भनिने संजय इस्लामिक मगर भने साउदी अरबमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलमार्फत् ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी गरेको जनाएको छ । २०६९ साल जेष्ठ १८ गते न्यायाधीश बमको ललितपुरको युनएनपार्क नजिकै हत्या भएको थियो । ललितपुरको बंगलामुखी मन्दिरमा दर्शन गरेर सर्वोच्च अदालत जाँदै गर्दा न्यायाधीश बममाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनका अंगरक्षक महेश गिरी र न्यायाधीश बमका साथी राम गिरी घाइते भएका थिए । घटनालगत्तै नेपाल प्रहरीले ‘शंखमुल अप्रेसन’ सन्चालन गरी अनुसन्धान सुरु गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्...