राष्ट्रिय योजना आयोगका पूर्व सदस्य त्रिशुलीमा वेपत्ता २४ घण्टा बढी भइसक्दा पनि भेटिएनन्, खोजी जारी



trishuli
रसुवा, माघ २ - त्रिशूली नदीमा हराएको २४ घण्टाभन्दा बढी भइसक्दा पनि राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रामकुमार शर्मा भेटिएका छैनन् । उनी बिहीबार बिहान ११ बजे हाकु–३ हाकुबेंसीमा कान्लो उक्लने क्रममा चिप्लिएर नदीमा खसेका थिए ।
शर्मा नदीमा खसेको स्थानीयबाट जानकारी आएको डिएसपी प्रवीण पोखरेलले बताए । उनको खोजीमा लामटाङ राष्ट्रिय निकुन्जको सुरक्षार्थ रहेको नारायण दल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय खटिएका छन् ।
निर्माणाधिन २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको परामर्शदाता रहेका उनी योजनाको सामाजिक पक्ष हेर्न हाकु आएका थिए ।
भोजपुर स्थायी घर भएका ६२ वर्षीय शर्मा काठमाडौं कोटेश्वर बस्दै आएका थिए । ‘उनको खोजीका लागि नदीमा पौडी खेल्न जान्ने स्थानीय युवालाई परिचालन गरेका छौ,’ डिएसपी पोखरेलले भने ‘अहिलेसम्म उनी भेटिएका छैनन् ।’
धुन्चे र हाकु बीच बग्ने त्रिशूली नदी साँघुरो र गहिरो खोंच छ । त्यसैगरी उच्चहिमाली क्षेत्रमा पुस दोस्रो र तेस्रो साता परेको हिउले नदीको प्रवाह बढेकाले खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...