छापामार शैलीमा तोडफोड र आगजनी


छापामार शैलीमा तोडफोड र आगजनी
काठमाडौं-बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने चरण अघि बढाउने सत्तारूढ राजनीतिक दलको विरोधमा संविधानसभाभित्र रहेका एकीकृत माओवादी र मधेसवादी दल तथा बाहिरका नेकपा–माओवादी तथा जातीय मोर्चाहरुद्वारा संयुक्त आह्वानमा मंगलबारको बन्द हिंसात्मक बन्यो।
बन्दकर्ताले प्रभाव बढाउँदै विरोधीमाथि क्षति पुर्यााउन र पक्राउबाट जोगिन छापामार शैलीको ‘हिट एन्ड रन' (हिर्काएर भाग्ने) रणनीति अपनाएका थिए।
संविधानसभामार्फत प्रश्नावली समिति बनाएर अगाडि बढ्ने सत्ताघटकको प्रयास रोक्न संविधानसभामै तोडफोड र आक्रमणमा उत्रिएका एमाओवादी र मधेसवादी दलका समर्थकहरु मंगलबार विहानैबाट सडकमा पनि तोडफोड र आगजनीमा उत्रिए। उनीहरुले सरकारी कार्यालयबाट रकमसमेत लुटेका थिए। समाचार संकलनमा हिँडेका सञ्चारकर्मी र सञ्चारगृहका सवारीसाधनसमेत बन्दकर्ताको निशानामा परे।
बन्दसमर्थकलाई सम्बोधन गर्न हिँडेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षा टोलीमाथि बन्दसमर्थकबाटै आक्रमण भएपछि उनी सम्बोधन नै नगरी सुरक्षा घेरामा लाजिम्पाट निवास फर्किएका थिए। प्रहरीको सुरक्षा घेरामा बन्दसमर्थकलाई सम्बोधन गर्न बिजुलीबजार गएका दाहालमाथि नै बन्दकर्ता आक्रमणमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको थियो। झडपमा माओवादी नेता जर्नादन शर्मा घाइते भए।
संविधान निर्माणको मुख्य विषयमा विवाद बढ्दा सुरक्षा स्थिति संवेदनशील बन्दै गएको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले ‘माघ ८ केन्द्रित विशेष सुरक्षा योजना' कार्यान्वयनमा ल्याउँदै बन्द असफल बनाउन काठमाडौं उपत्यकामा नेपाल प्रहरी र सशस्त्र गरी ४ हजारभन्दा बढी सुरक्षाकर्मी खटाएको थियो। सुरक्षाकर्मी बिहान ४ बजेबाटै सडकमा तैनाथ गरिए पनि आगजनी र तोडफोडका घटना रोकिएनन्।
बन्द असफल बनाउन प्रहरीले ‘मास एरेस्ट' गरी नियन्त्रणमा राख्न नेपाल पुलिस क्लब, बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रको सभाहल र थापाथलीस्थित खाद्य संस्थानको गोदाम र आवश्यकताअनुसार प्रहरी कार्यालयमा तयारी गरेको थियो। गृह मन्त्रालयका अनुसार प्रहरीले जबर्जस्ती बन्द गराउँदै हिँडेका ३४ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइए पनि ‘मास एरेस्ट' भने गरेन। काठमाडौं, कैलाली, बर्दिया, डडेल्धुरा, बाँके, भक्तपुर, पर्वत र धनकुटामा स्थानीयले बन्दकर्ताको प्रतिकार गरेका थिए।
बिहान सडकमा केही सवारीसाधन चले पनि बन्दकर्ताले छापामार शैलीमा सवारीसाधन रोकेर पेट्रोल छर्कंदै आगजनी गर्न थालेपछि सवारीसाधन आवतजावत घटेको थियो। भित्री सडकका पसल खुले पनि मुख्य सडकमार्ग सुनसान थिए। निजी कार्यालय र विद्यालय बन्द भए। सरकारी कार्यालय खुले पनि कर्मचारी थिएनन्।
गृहले हिंसात्मक घटना गराउन खोज्नेलाई तत्काल पक्राउ गर्ने सुरक्षा नीति बनाए पनि कार्यक्षेत्रमा कार्यान्वयनमा आएन। सहरको मुख्य चोकमा बसेर सवारीसाधन तोडफोड र जबर्जस्ती पसल बन्द गराउँदासमेत सुरक्षाकर्मी हस्तक्षेपमा बढेनन्।
गृहका अनुसार काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी बन्दकर्ताले १८ वटा सवारीसाधन तोडफोड गरे भने १२ वटामा आगजनी। बन्दमा खोलेको भन्दै उनीहरुले सरकारी र सत्ताधारी दलका कार्यालयसमेत तोडफोड गरे। काठमाडौंमा १२, ललितपुरमा २, भक्तपुरमा १, चितवनमा ३, सिराहामा १, झापामा १, मकवानपुरमा २, कास्कीमा ४, बाँकेमा २, महोत्तरीमा १ र डडेल्धुरामा १ गरी ३० वटा सवारीसाधनमा आगजनी र तोडफोड गरी क्षति पुर्यािइए।
गृह प्रवक्ता लक्ष्मी ढकालले बन्दमा हुन सक्ने घटनाको पूर्वआँकलन गरी सुरक्षाकर्मी परिचालन बढाएकाले बन्दको गम्भीर प्रभाव नपरेको बताए। ‘हिर्काएर भाग्ने' नीतिका कारण केही जिल्लामा क्षति भएको ढकालले बताए।
बिहानैबाट चोक–चोकमा समूहमा खटिएका बन्दकर्ताको सबैभन्दा धेरै निशानामा ट्याक्सी र मोटरसाइकल परे। स्युचाटारबाट पुल्चोक यात्रु छाडेर फर्किंदै गरेको बा१ज ८०६४ नम्बरको ट्याक्सीमा बन्दकर्ताले बिहानै आगजनी गरेका थिए। उनीहरुले ट्याक्सीचालक धर्म मगरलाई भित्र राखेर पेट्रोल छर्केर आगो लगाएका थिए। प्रहरीले धर्मको सकुशल उद्धार गरेको थियो।
बन्दकर्ताले बागबजारमा बा४६प १८७५ नम्बर स्कुटर पेट्रोल छर्केर बिहानै आगो लगाउँदा स्कुटीमा सवार गंगा चित्रकार सामान्य घाइते भइन्। बागबजारको एनसिसी बैंकअगाडि ५ जनाको समूहमा रहेकाले स्कुटी रोकेर उत्रनसमेत नदिई पेट्रोल छर्केर आगो लगाउँदा चालकको कपडा आगोले टिपेको थियो। विजुलीबजारमा बन्दसमर्थकले बा३०प १३६४ नम्बरको बाइकमा आगो लगाएका थिए।
उनीहरुले बनस्थलीमा बा१ज ८२२२ नम्बरको ट्याक्सीमा आगो लगाइदिए भने बिजुलीबजारमा सभासद बोकेको बा१झ २०७६ नम्बरको सरकारी गाडी फोडिदिए। नयाँबानेश्वरमा कूटनीतिक नियोगको मोटरसाइकल, वीर अस्पतालअगाडि अर्को मोटरसाइकल तोडफोड गरे भने गुहेश्वरीमा एउटा बसमा आगो लगाइदिए।
दाहाललाई प्रहरीले बचायो
माइतीघरमण्डला क्षेत्रमा बन्दको विरोधमा युवाहरु भेला भएपछि बन्दसमर्थक प्रतिकार गर्न त्यहाँ पुगेका थिए। तत्कालै बन्दविरोधी र समर्थकवीच झडप भयो, प्रहरीले हस्तक्षेप गरेर दुवै पक्षलाई तितरबितर पारेपछि बन्दकर्ता बबरमहलतिर लागेका थिए।
बबरमहलमा भेला भएर संविधानसभा भवन क्षेत्र नयाँबानेश्वर जाने तयारी गरेपछि प्रहरीले सडकमा काँडेतार राखेर रोकेको थियो। त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच केही समय तनाब भएको थियो। बबरमहल हुँदै आएका प्रदर्शनकारीले बिजुलीबजारमा प्रहरीले राखेको काँडेतार हटाउँदा त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली मौन बसेको थियो।
निरन्तर अवरोधपछि संविधानसभाको नियमित बैठक स्थगित भएपछि निस्किएका बन्दकर्ता दलका सभासदसमेत नाराबाजी गर्दै बिजुलीबजारतिर आएपछि अवस्था झन् भड्किएको थियो। बिजुलीबजारमा भेला भएका बन्दसमर्थकलाई सम्बोधन गरेर बन्द सक्काउने योजनासहित एकीकृत माओवादी अध्यक्ष दाहाल, नेता बाबुराम भट्टराई, जनार्दन शर्मालगायतको टोली विजुलीबजार आइपुग्दा बन्दकर्ताकै कोपभाजनमा परे।
बन्दकर्ताको अवरोध हटाएर दाहाललाई सम्बोधनका लागि तोकिएको स्थानमा पुर्या्उन सशस्त्र प्रहरीको टोली अगाडि बढेलगत्तै बन्दसमर्थक उनीहरुमाथि नै जाइलागेका थिए। बन्दकर्ताले लाठी र भाटाले हान्दा झन्डै दाहाल आफैं घाइते भएका थिए। उनलाई ताकेर हानिएको भाटा रोक्दा दाहालको सुरक्षामा खटिएका एक प्रहरी घाइते भए।
बन्दकर्ताले प्रहरी भएतिर ढुंगा प्रहार गर्दा दाहाललगायत नेता कृष्ण टावरनजिकै फसेका थिए। प्रहरीले दाहाललाई घेरा हाल्दै भ्यानमा राखेर लाजिम्पाट निवास पठाएको थियो। सोही झडपमा माओवादी नेता जनार्दन शर्मा भने घाइते भए। बन्दकर्तालाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गर्दा उनको टाउकोमा चोट लागेको थियो। रगत बगिरहेका शर्मा उपचारका लागि नर्भिक पुगे। उनको टाउकाको चोटमा टाँका लगाइएको छ। एमाओवादी सभासद अनिता परियारको पनि हातमा चोट लाग्यो।






प्रतिक्रिया दिनुहोस्...