जनताका आँखामा धुलो हाल्ने कोशिस हुँदैछ : बाबुराम


फोटो :विश्वदीप पाण्डेको फेसबुकबाट (गोरखाको उहियामा शुरु मेलामा सम्बोधन गर्दै बाबुराम)
गोरखा : एमाओवादीका नेता डा. बाबुराम भट्टराईले उत्पीडित वर्गको आँखामा छारो हाल्ने कोशिस भएको बताएका छन्। गोरखाको उत्तरी उहिया गाविस्थित तातोपानीमा शुरु कृषि पर्यटन तथा प्रवर्द्दन मेलाको उद्घाटन गर्दै भट्टरार्इले छारो हाल्न खोज्नेबाट उत्पीडितहरु जोगिनुपर्ने बताएका हुन् । 
 
'छिटो संविधान बनाउने नाममा पछाडि पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकाधिकार खोसेर यथास्थितिवादी संविधान जारी गर्ने षड्यन्त्र भइरहेको छ', उनले भने, 'यो षड्यन्त्रविरुद्ध संघर्ष आवश्यक छ ।' 
 
जनयुद्ध र दोस्रो जनआन्दोलनसहितका आन्दोलनबाट सामन्ती राज्यसत्ता बदलेर सबै नेपालीको साझा देश बनाउने प्रयत्न आफूहरुले गरिररहेको उनको दाबी थियो ।
 
'त्यसकै लागि सबैको अधिकार पक्का हुने गरी नयाँ नेपाल बनाउन संविधान लेख्ने प्रयत्नमाछौं,' उन भने, 'तर यो देशका केही टाठा-बाठाहरुले विभिन्न तर्कसहित जालसाजी गरेर संविधान बन्न दिइए छैनन् ।'
 
२०४७ सालको संविधानको गातामात्रै फेरेर पुरानै संविधान जारी गर्ने प्रयत्न गरी देश र जनताका आँखामा पुन: छारो हाल्ने कोशिस ती मान्छेहरुबाट भइरहेको बाबुरामको आरोप थियो । ’
 
तमू-गुरुङहरुको बसोबास रहेको उहियामा नेता भट्टराईले पहिचानको आन्दोलनमा लाग्न पनि स्थानीयलार्इ आग्रह गरे ।  'शोषकले अनेक कूतर्क गर्न जानेको हुन्छ, ढाँटछल गर्न जानेको हुन्छ । चिल्ला र मिठा कुरा गरिदिन्छ', उनले भने, 'तर मुखमा रामराम बगलीमा छुरा भनेजस्तै चरित्रका ती मान्छेबाट चनाखो हुँदै आफ्नो अधिकारका लागि सक्रिय रहनुस् ।'
 
सबै आदिबासी जनजातिको भाषा–संस्कृति संरक्षण हुनेगरी अधिकारसहितको संविधान बनाउनका लागि आन्दोलन जरुरी रहेको भट्टरार्इको तर्क थियो । 'एक थान खोस्टो संविधान त अहिले नै लेख्न सकिन्छ', उनले भने, 'संविधान नै नभएर नयाँ संविधान बनाउन खोजिएको होइन । सबै नेपालीको अधिकार सुनिश्चित हुनेगरी संविधान लेख्न संविधानसभा गठन गरिएको हो।'।






प्रतिक्रिया दिनुहोस्...