नयाँ इतिहास रच्ने अभियानमा नेपाली क्रिकेट


आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको छनोट चरणको अन्तिम खेलमा शुक्रबार नेपालले केन्याको सामना गर्ने भएको छ । केन्यासंगको जितले नेपाललाई विश्व क्रिकेटको डिभिजन १ मा पुर्याउने छ । नामिबियाको राजधानी विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लबको मैदानमा हुने सो प्रतियोगितामा नेपालले विश्वकपको अनुभव बटुलेको केन्यासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले केन्याविरुद्वको खेलमा जित हासिल गरे डिभिजन एकमा प्रवेश मात्र गर्दैन नेपाली क्रिकेटमा नयाँ इतिहास समेत रच्नेछ । १२ वर्षअघि विश्वकप सेमिफाइनल पुगेर विश्व क्रिकेटमा तहल्का मच्चाएको केन्यामाथि डिभिजन २ मा टिकिरहन जितको दबाब छ । नेपाललाई पनि सजिलोसँग बढुवा हुन जित आवश्यक छ । जारी प्रतियोगितामा उपाधिको दावेदार मानिएको नेपालले यसअघि अ‍ेलेको चार खेलमा तीनमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा खराब सुरुवात गरेता पनि त्यसपछिको खेलमा भने उत्कृष्ट खेल प्रदर्शन गर्दै लगातार जित हासिल गर्दै आएको छ । पहिलो खेल युगान्डासँग दुई रनले पराजित भएको नेपाल दोस्रो खेलमा चार पटक विश्वकप खेलिसकेको नेदरल्यान्ड्सलाई २ विकेटले पराजित गर्दै नेपाली क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धिसमेत हासिल गर्यो । त्यस्तै, तेस्रो खेलमा क्यानाडालाई ७ विकेट र चौथो खेल आयोजक नामिबियालाई ३ विकेटले पराजित गर्दै नेपालले जित हासिल गगर्यो । यसैगरी, सन् १९९६ को विश्वकपमा वेस्ट–इन्डिजलाई पराजित गरेको केन्या सन् २००३ मा सेमिफाइनलसम्म पुगेर सनसनी मचाएको थियो । त्यस्तै, न्युजिल्यान्डमा भएको विश्वकप छनोटको अभ्यास खेलमा केन्याले नेपालमाथि १ विकेटको जित हात पारेको थियो । यस्तै, ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा भने नेपालले केन्यालाई पराजित गर्दै आएको छ । सन् २०१२ को ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले केन्यामाथि ५ विकेटको जित निकालेको थियो भने सन् २०१३ मा भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा पनि नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो । जारी प्रतियोगितामा ६ अङ्क बटुलेको आयोजक नामिबिया रनरेटको आधारमा लिगको शीर्ष स्थानमा छ भने समान अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ । त्यस्तै, प्रतियोगितामा समान ४।४ अङ्क जोडेका क्यानाडा तेस्रो र नेदरल्यान्ड्स् चौथो स्थानमा छन् भने केन्या र युगान्डा समान २।२ अङ्कका साथ रेलिगेसन जोनमा छन् ।




प्रतिक्रिया दिनुहोस्...