संविधानसभामा गुरिल्ला डान्स जारी छ : ओली (भिडियोसहित)



काठमाडौं, माघ ८ । संविधानसभाको बैठकमा विहीबार (आज) पनि विपक्षी दलका सभासदहरुले अवरोध गरेका छन् । विपक्षीहरुको अवरोधपछि दिउँसो सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

आज दिउँसो १ बजेपछि बैठक सुरु भएलगत्तै विपक्षीहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए । एकीकृत माओवादीसहितका विपक्षी मोर्चाका सभासदहरुले ‘रोष्ट्रम’अगाडि उभिएर नाराबाजी गर्नेक्रम जारी राखेपछि सभाध्यक्ष सुवास नेम्वाङले दिउँसो सवा ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

बैठक सुरु हुनासाथ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता डा. बाबुराम भट्टराई, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलगायतका नेताहरुको अगुवाइमा सभासदहरुले नाराबाजी गरेका थिए । उनीहरुले ‘सहमति बिना संविधान ल्याउन नमिल्ने’ भन्दै नारा लगाएका थिए ।

आजको बैठकमा प्रश्नावली निर्माण समिति गठनको प्रस्ताव गर्ने कार्यसूची छ । यसअघि बुधबार पनि विपक्षीहरुको अवरोधका कारण संविधानसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

भित्र विपक्षीहरुले नाराबाजी गरिरहेका बेला बाहिर निस्किएका एमाले अध्यक्ष केपी ओलीले बैठकमा गुरिल्ला डान्स चलिरहेकाले जनताले केही दिन दुःख पाउने प्रतिक्रिया दिए ।

माघ ५ गते मध्यरातमा एकीकृत माओवादीसहितका विपक्षी सभासदहरुले ‘तान्डव’ देखाएपछि संविधानसभाको बैठक अवरुद्ध हुँदै आएको छ ।

यता, संविधानसभा बाहिर भने विभिन्न समूह र दलहरुले प्रदर्शन जारी राखेका छन् । विपक्षी दलहरु र विभिन्न जातजातिका संस्थाहरुले संविधानसभा भवनको बाहिरका नाकाहरुमा नाराबाजी र प्रदर्शन गरेका हुन् 





प्रतिक्रिया दिनुहोस्...