सभामुखको सम्बोधनसँगै सकियो माघ ८


काठमाडौं : एक वर्षभित्र संविधान दिने दलहरुको बाचा अन्ततः पूरा हुन सकेन । पहिलो संविधासभा असफल भएपछि बनेको दोस्रो संविधानसभाले पनि तोकिएको समयमा संविधान दिन असफल भएको हो ।

बिहीबार राति पौने ९ बजेबाट सुरु संविधानसभाको बैठकमा मध्यराति सम्बोधन गर्दै सभामुख नेम्वाङले एक वर्षको अवधिमा संविधान जारी हुन नसकेकोमा आफू अत्यन्त मर्माहत र दुखी भएको बताए ।

‘दलहरु नैतिकता र इमानदारिताको कसीमा फेल हुँदा जनता र विश्वभरी नकारात्मक धारणा बनेको छ’, सभामुख नेम्वाङले सम्बोधनमा भने, ‘संविधान निर्माणका लागि प्रक्रियामा जाँदा पनि सहमति र सहकार्यमा जाने बाटा रहन्छन् ।’

अन्तिम समयसम्म पनि सहमतिको कोशिस भएको जनाउँदै सभामुख नेम्वाङले नेपाली जनतालाई निराश नपारौँ भन्ने योजनामा तुषारापात भएकोमा आफू मर्माहत भएको बताए ।

‘नेपाली जनताले दिएको कार्यभार अवरुद्ध गरेर होइन खुलाएर मात्र पूरा हुन्छ’, लिखित सम्बोधन गर्दै नेम्वाङले भने, ‘अवरोध संस्कृतिको रुपमा विकास भएमा संविधानसभाले संविधान दिन सक्दैन । दलहरुको कबूल पूरा भएको छैन । अब यो कबुल प्रक्रियामा गएर भए पनि पूरा गर्नुपर्छ ।’

देश र जनतालाई संविधान दिनका लागि दलहरुबीच आपसी सद्भाव र एकता आवश्यक रहेको समयमा बढेको तिक्तता र दुरीले कसैलाई फाइदा नगर्ने सभामुम नेम्वाङको भनाइ थियो ।

‘नेपाली जनताले दिएको संविधान निर्माणको एकमात्र कार्यभार संविधान निर्माण हो’, सभामुख नेम्वाङले भने, ‘संविधान अवरुद्ध गर्ने कार्य जनादेश, जनताको सर्वोच्चता र गरिमाविरुद्ध रहेकाले बैठक यथाशिघ्र सुचारु हुनपर्छ ।’

एमाओवादी र मधेसवादी दलका सभासद्को नाराबाजीबीच सभामुख नेम्वाङले लिखित मन्तब्य दिएका थिए । उनले लिखित मन्तब्य दिइसकेपछि अर्को बैठक माघ ९ गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्...