तिलौराकोटमा बुद्धकालीन चाँदीका सिक्का भेटिए


भगवान गौतम बुद्धको स्थल तिलौराकोटमा भइरहेको उत्खननको केही दिनमै धमाधम महत्वपूर्ण पुरातात्विक वस्तु फेला पर्न थालेका छन् । गत पुस २४ देखि जारी दोस्रो चरणको उत्खननमा प्राचीन चाँदीका मुद्रा, माटाका घैँटा, हड्डी, माटाका वस्तुलगायतका सामग्री फेला परेका हुन् । यस्तै अर्धमूल्यवान माटाका गेडाहरू, चुराका टुक्रा, हात्तीको सुँड, आगाको अँगारलगायतका पुरातात्विक वस्तुसमेत भेटिएका छन् । बेलायतका दुई विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका संयुक्त टोलीले एकैसाथ चार स्थानमा उत्खनन र अन्वेषण गरिरहेको छ । उच्च प्रविधिसहित बेलायतको दुर्हम र स्टलिङ विश्वविद्यालयका प्राध्यापकहरूको टोलीले समयमाई मन्दिर उत्तर, मुख्य दरबार र पश्चिमी डिल, पूर्वीद्धारको पश्चिम तथा दरबार क्षेत्र बाहिर कन्थक स्तुपको २० मिटर दक्षिणतर्फ उत्खनन भइरहेको छ । यसै क्रममा गत आइतबार कन्थक स्तुप नजिकै उत्खननका क्रममा घैँटोभित्र राखिएको अवस्थामा ४९४ चाँदीका पञ्चमार्क मुद्रा भेटिएको वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताउनुभयो । आइतबार भेटिएको माटोको घैँटोको मुद्रा गणना गर्ने काम मङ्गलबार साँझ सकिएको हो । घैंटोमा ४९१ र घैंटो बाहिर माटोमा तीन सिक्का फेला परेका थिए । मुद्रा टुटफुट नहोस् भनेर पुरातात्विक मूल्य मान्यताअनुसार विस्तारै निकालेर पानीले सफा गरी गणना गरिएको थियो । भेटिएका चाँदीका सिक्का चारकुने र गोलाकार छन् । करिब एक मिटर गहिराईमा सानो माटोको भाँडोेमा मुद्रा भेटिएको हो । १५ सेन्टिमिटर ब्यास र ५० सेन्टिमिटर उचाइ रहेको माटोको घैँटोमा मुद्रा रहेको थियो । पंचाग मुद्राहरू सम्राट अशोककालीन तथा ईसापूर्व २०० देखि ८ सम्म प्रयोगमा आएको हुन सक्ने अनुमान गरिएको छ । विज्ञसँग सल्लाह गरेर सिक्का सफा गरी प्रदर्शनका लागि सङ्ग्रहालयमा राखिने बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्...