नेपालबाट हराएका बालकलाई फेसबुकले भारतमा भेटायो


फोटो :इलामबाट हराएका बालक सिलगुडीस्थित अस्पतालको बेडमा
इलाम : सामाजिक सञ्जालको दुरुपयोगले मानिसले दुःख पाइरहेका बेला एक महिनादेखि हराइरहेका  इलामका एक बालक  फेसबुकको सहयोगमा फेला परेका छन् । 
 
इलामको जितपुर गाविस–६ शिभरनीका एकजना बालक सामाजिक सञ्जाल फेसबुकको सहयोगमा भारतको बागडुग्रामा फेला परेका हुन् । गत पुस १३ गतेदेखि गाउँबाटै हराएका सन्तोष मगरलाई फेसबुकको सहयोगमा अभिभावकले फेला पार्न सफल भएका हुन् । 
 
‘आइ लभ सिलिगुडी’ फेसबुक पेजमा सिलिगुडीको बागडुग्रामा रहेको गयागंगा टि स्टेट नजिकको नवजीवन सामुदायीक अस्पतालमा घाइते अवस्थाका सन्तोषको उपचार भइरहेको फोटो पोष्ट भएपछि सोही आधारमा अभिभावकहरु सन्तोषसम्म पुग्न सफल भएका हुन् । 
 
‘आइ लभ सिलिगुडी’ फेसबुक पेजमामा पोष्ट गरिएको सूचनालाई ‘द दार्जिलिङ क्रोनिक’ फेसबुक पेजले साभार गरेपछि सो सूचना इलामकी आशा फागोसम्म आइपुग्यो । 

फागोले इलामग्रिन फेसबुक पेजका एडमिन सुदीप श्रेष्ठलाई जानकारी दिएलगत्तै सो पेजले बालकको सूचना जानकारी दिएपछि आफ्नो सञ्जालका सदस्यसम्म पु¥यायो । केही घन्टामै त्यो सूचना सयबढीले शेयर गरे । शेयर गरिएको सोही सूचना केही क्षणमै बाललको परिवारसम्म पुग्यो ।

सूचना पाएपछि श्रेष्ठले इलामका प्रहरी नायव उपरीक्षक अनुपम समशेर राणासँग कुरा गरेर परिवारको खोजीमा लागेको बताए । उनले बालक उपचाररत अस्पतालमा सम्पर्क गरी अभिभावक फेला परेको सूचना दिए । 

उता गयागंगा चियाकमानमा कार्यरत मजदुरहरुले बालकको उपचारको लागि सहयोग गरिरहेको कमानकी मजदुर गंगा राईले बताएकी छिन् । उनका अनुसार मारुती भ्यानले किचेको कारण उपचार गराईरहेका बालकको दुबै हात र खुट्टा भाँचिएको छ ।

आइतबार बिहान दाजु गौजबहादुर लुङ्गेली र काका सन्तोष सुरङ्गी सिलगुडी तर्फ लागेको प्रहरीले जनाएको छ । जितपुर उच्च माविको कक्षा ६ मा अध्ययनरत मगर पुस १३ देखि हराएका थिए । हराएपछि रेडियो र पत्रपत्रिकामा उनी हराएको सूचना प्रकाशित गरिएको थियो ।

विद्यालय हिँडेका उनी स्थानीय एक पसलमा एनसेलको रिचार्ज कार्ड खरिद गरी कपडा फेरेर हिँडेको स्थानीयले देखेका थिए । 
 
बालकलाई इलामबाट पहिले विर्तामोड पुयाइएको र त्यहाँबाट काकडभिट्टा हुँदै सिलिगुडी लगेको बालकले बताएका छन् । उनले आफ्नो आमाबुवाको नाम र आफू इलामको भएको मात्र सुचना दिएका छन् । 
बालकसँग टेलिफोनबाट सम्पर्क गर्दा अन्य जानकारी लिन नवजीवन अस्पताल प्रशासनले रोक लगाएको छ । बालकको सर्जिकल वार्डमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा बालक अपहरित भएको हुनसक्ने प्रहरीको आशंका छ । बालक फर्किएपछिमात्रै उनी हराएको कारण पत्ता लाग्ने प्रहरी नायव उपरीक्षक अनुपम समशेर राणाले बताए ।






प्रतिक्रिया दिनुहोस्...