मैले यस कारण बोहोरासँग विवाह गर्न पुगेँ : मिथिला शर्मा


१० वर्षकी एउटी फुच्ची राजा वीरेन्द्रका अघि नाच्दै थिइँन । तिनै फुच्चीलाई कालान्तरमा त्यही नाचले मिथिला शर्मा बनायो । २०१६ सालमा हो उनले पहिलो पल्ट स्टेजमा आफ्नो अभिनय प्रस्तुत गरेकी । त्यसबेला राजा वीरेन्द्रको जन्मोत्सव थियो । अहिले उमेर ५० नाघिन शर्माले । जीवनमा थुप्रै उतार चढावहरु भोगेकी उनको नृत्य व्यवसाय बन्यो । उनी आज पनि नाचिरहेकी छिन् । नाच्ने मात्रै होईन उनी साना नानीहरुलाई नृत्यका विभिन्न कला कौशलहरु सिकाउन दिनभर व्यस्त हुन्छिन् । सुरुमा रहरले मञ्चमा नाच्न उक्लिएकी मिथिलाको पछि भने नाच नै जीवन बन्न पुग्यो ।
नाच्दा–नाच्दै उनको यात्रा रंगमञ्चमा उक्लियो । उनी नाटक खेल्न थालिन् । टेलिसिरियल हुँदै ठूला पर्दासम्मै देखिइन् । २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वास’बाट चलचित्रको रंगीन दुनियाँमा होमिएकी मिथिलाले झण्डै एक सय २५ चलचित्रमा अभिनय गरेकी छन् । चलचित्र ‘विश्वास’मा जम्मा ३ मिनेटको मात्रै भूमिकामा निर्वाह गरेकी उनको अनन्त जीवनको लय त्यही ३ मिनेटले निर्धारण गरिदियो । त्यसपछि पर्दामा उनले विभिन्न भूमिकामा अभिनय गरिसकेकी छिन् ।

करिव १० वर्ष अघि स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको चलचित्र ‘सुख–दुःख’मा अभिनय गरेपछि उनको उचाइ अझ चुलियो । पर्दामा मदनकृष्ण श्रेष्ठको जोडिका रुपमा देखिएकी शर्माले सुख दुःखमा सन्तानद्धारा पिछडिएका अभिभावकको भूमिका निर्वाह गरेकी शर्मालाई त्यही भूमीकाका कारण दर्शकको आँसु हेर्नु परेको थियो । चलचित्र सुख दुख रिलिज भएको केही समयपछि अर्को सिनेमा सुटिङका लागि चितवनको राप्ती नदी पुगेकी उनलाई एउटी महिला आइन् मिथिलालाई अंगालो हालिन् अनि अनुहार सुम्सुम्याउँदै भनिन् ‘नानी तिमीले कति दुःख पाएको कठै बरा ।’ उनीसँग यस्ता दुःखका किस्सा थुप्रै छन् ।
मिथिला शर्माको यो उचाइ त्यसै निर्धारण भएको होइन ।

उनले आफ्नो अभिनय यात्रामा कहिले हङ्गामा मच्चाउने बाटो रोजिनन् । उनी निरन्तर काममा लागिरहिन । त्यहि उनको मेहनत नै काफी भयो जीवन बाँच्नका लागि । उनलाई कुनै एउटा चलचित्रको अभिनयले मिथिला शर्मा बनायो भन्ने कुरामा पटक्कै विश्वास छैन । जतिपनि चलचित्रमा अभिनय गरिन ति सबै चलचित्र उनको यो उचाइको उत्तिकै हकदार छन् । उनले यो उचाइ जोगाउनका लागि झण्डै ९ वर्षदेखि आजपर्यन्त संघर्ष गरिरहेको बताएकी छिन् ।
शर्मालाई ‘तपाईले कुन चलचित्रमा कस्तो खालको भूमिका निर्वाह गरेर एकदम सन्तुष्ट हुनुभयो ?’ भन्ने नेपालपाटी डट्कमको जिज्ञासामा उनले भनिन्, ‘सबै भूमिकाको आ–आफ्नै खालको स्थान हुन्छ । तिनै फरक फरक अभिनयबाटै फरक फरकखाल मजा र आनन्त अनुभूति गरेको छु ।’ तर, चलचित्र ‘मुखुण्डो’ले उनलाई नेपालका सीमा पारी पारीसम्म पुर्यायो । अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली कलाकार मिथिला शर्माको चर्चा फैलियो । ‘आफ्नो मान्छे, सुख दुःख, विश्वास, कोहीनूर’ लगायतका चलचित्र पनि उनलाई सन्तोष दिने पङक्तिमा परेका छन् । मिथिला शर्मा कुनै पनि चलचित्रकी हिट नायिका बनेर चर्चामा आइनन् । त्यसैले पनि उनले कुनै एउटा चलचित्र छानिन् ।
अभिनयको दुनियाँमा रम्दै गर्दा धेरै पटक म यो अभिनय अझै राम्रोसँग गर्न सक्थेनी भन्ने भएता पनि यो चरित्रमा किन उभिएँ होला भनेर उनलाई कहिल्यै महसुश भएन । मिथिला शर्माले कहिल्यै पनि आफ्नो कलालाई व्यापारका रुपमा हेरिनन् । कलाकारितामा जीवनका उर्जाशील सम्पूर्ण समय व्यतित गरेकी शर्मालाई कुनै दिन पनि कलाकारितासँग वितृष्णा जागेन । चलचित्र क्षेत्रमा लागेर जीवन पाईन रे, तर केहि गुमाएकी छैनन् उनले भनिन् ।
आफ्नो जीवनको लामो समय अभिनयमै गुजारेकी शर्मालाई अहिलेको पुस्ता झन सशक्त रुपमा यो क्षेत्रमा आएको महशुस हुँदोरहेछ । उनी भन्छिन, ‘होमिनेहरु जसरी होमिन्छन उसैगरी पन्छिन्छन पनि । केही कलाकार सोखका हिसावले कलाकारितामा आएका छन् त्यो अलग कुरा हो । तर कलाकारितामा आउँदै गरेको नयाँ पुस्ता थुप्रै सम्भावना बोकेर आएको शर्माको भनाइ छ ।
कुनै पनि क्षेत्रले कहिल्यै कसैलाई समस्या नदिने मिथिलाको बुझाइ छ । कुनै पनि क्षेत्रमा गएर एउटा व्यक्तिले गर्ने संघर्ष, मेहनत र अनुशासनका कुराले हर कुनै व्यक्तिको मार्ग निर्देशन गर्ने बताउने शर्मा भन्छिन, ‘मान्छेका आचरणले नै मान्छेलाई समस्यामा पार्ने वा नपार्ने हुन ।’ उनको बुझाइमा अरुको नक्कल गर्दा पनि अक्कल पुर्याएर गर्नुपर्ने छ । चलचित्रले आफ्नोपन र संस्कृति बोक्न सके उनलाई पनि गर्व लाग्छ ।
अघिल्लो पुस्तादेखि पछिल्लो पुस्ताका प्राय सबै कलाकारसँग विभिन्न भूमिकामा अभिनय गरिसकेकी मिथिला शर्मा नायिका निरुता सिंह, रेखा थापाको काम प्रतिको लगाव देखेर निक्कै प्रभावित छिन् ।
कलाकारिता क्षेत्रमा लागेर एउटा बेग्लै उचाइ बनाएको निक्कै पछि उमेरले पनि ५ दशक नाघिसक्दा वैवाहि जीवनमा बाधिएकी शर्मालाई जीवनको अन्तिम बिन्दु यहि हो, यहीँबाट जीवनको सुरुवात गर्नु पर्छ भन्ने लाग्दैन । उनलाई जहाँबाट जीवनले फरक मोड लिन्छ जीवनको नयाँ विहानी त्यहीँबाट सुरु हुने उनको बुझाइ छ । यो उमेरसम्म किन विहे नगरी बस्नु भयो त भन्दा शर्माको जवाफ आउँछ, ‘मैले विवाह नगर्नुमा त्यस्तो कुनै कथा जोडिएको थिएन । प्रस्ताव आयो, ठिकै लाग्यो, गरेँ पनि ।’
मिथिलालाई आर्दश मानेर कति महिलाहरु अविवाहित बाँच्ने सोचाईमा हुनुहुन्थ्यो होला ? उनीहरुलाईत नसकिने रहेछ भन्ने पर्ने भयो नी भन्ने नेपालपाटी डटकमको जिज्ञासा पूरा हुन नपाउँदै शर्माको प्रतिकृया यस्तो थियो, ‘कस्ले सक्ने कस्ले नसक्ने, के गर्ने के नगर्ने भन्ने होइन । जीवन भनेको जहाँबाट जसरी बाँच्दा सहज हुन्छ त्यसैगरी बाँच्ने हो ।’ आफ्नै उमेरका एकल जीवन विताउँदै गरेका मान्छेलाई पनि उनको केही भन्नु छैन रे । यो उमेरमा आाएर विवाह गर्नु भयो, तपाईकै उमेरका एकल जीवन विताइरहने व्यक्तीलाई के भन्नु हुन्छ ?भन्दा शर्माको जवाफ थियो, ‘म कसैलाई केही भन्दिनँ । सबै मान्छेलाई आफ्नो जीवन आफ्नै तरिकाले बाँच्ने अधिकार छ । यसमा कसैको अनुभव कसैलाई पनि काम लाग्दैन । मेरो जीवन शैली, मेरो बाच्ने तरिका र अरुको फक फरक हुन्छ । आफ्नो ढ्ङ्गले आफ्नो स्वतन्त्रताले बाँच्ने स्वतन्त्रता हरेक मान्छेलाई छ । जसलाई जसरी सहज हुन्छ त्यसैगरी बाच्नु पर्छ ।’

साथी संगीका हिसावमा आफूलाई धेरै भाग्यमानी सम्झने शर्मालाई अहिले आएर जीवनसाथीका मामलामा पनि भाग्यमानी रहेछु भन्ने लाग्छ रे । विवाह पछि पनि आफू उत्तिकै खुशी रहेको बताउने शर्मालाई आफूले विवाह गर्न निक्कै ढिला गरेछु भन्ने पश्चाताप छैन । तर, विवाह पछि उनलाई अलि बढी जिम्मेवारी थपिएको जस्तो महसुस भने भा’छ । वैवाहिक जीवनबारे उनले आफैं खोलिन् ‘त्यो जीवन जिउनु र केही पारिवारिक जिम्मेवारीमा बस्नु अलि फरक हुँदो रहेछ ।’
५० वर्षसम्म त मान्छेको संघर्षमै वित्ने बताउने शर्मालाई वास्तवमा जीवन बाँच्ने भनेकै ५० वर्ष पछि हो भन्ने लाग्छ । उनी भन्छिन, ‘जुन बेला सबैले छोड्न थाल्छन्, शरीरले साथ दिन छोड्छ, आफ्नो पेशा छोड्ने बेला हुन्छ, जिन्दगीको साथी यही बेला चाहिन्छ ।’
मिथिलालाई पनि अब साथी चाहिन्छ है भन्ने लागेकै बेला सात दशक पार गरेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको विवाह गर्ने प्रस्ताव आयो । बोहराको उक्त प्रस्तावलाई उनले पनि स्वीकार्दै विवाह गरिन् । यो उमेर सम्म विवाह नगर्नुको त्यस्तो ठूलो कुनै कारण छैन । तर, उनले सधै भविष्य सोचीन । सधैं भविष्यकै बारेमा सोचेर आजसम्म कलाकारिताको कुनैपनि पानामा कालो धब्बा नलगाइ यहाँसम्म आएकी उनको सबैसँग अन्त्यमा अनुरोध हुन्छ आफू कलाकार भएकाले सबैले कलाकारिताकै कुरा माथि सारिदिए राम्रो हुन्थ्यो ।




प्रतिक्रिया दिनुहोस्...