अरूलाई खनेको खाल्डोमा आफैं


काठमाडौं : 'अरूलाई खनेको खाल्डोमा आफैं परिन्छ' भन्ने उक्ति ललितपुर बालकुमारीका राम श्रेष्ठको जीवनमा हुबहु मिलेको छ। लोभले मानिसलाई कतिसम्म विलापमा पार्छ भन्ने यथार्थ पनि उनको जीवन भोगाइले स्पष्ट पारिदिएको छ।
 
गैरकानुनी रूपमा नेपाली नागरिकता लिएको भन्दै झूटो जाहेरी दिएर एक वृद्धलाई थुनाउन सफल श्रेष्ठ आफैं दोहोरो नागरिकतामा फस्न पुगेका छन् यतिबेला। थुनिएका व्यक्तिले भने अदालतबाट नेपाली नागरिक नै भएको 'क्लिन चिट' पाइसकेका छन्। 
 
ललितपुर खुमलटार निवासी श्रवणकुमार शर्माको भारतीय नागरिकता रहेको भन्दै श्रेष्ठले ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए। २०६८ भदौ २९ गते दिएको उजुरीमा शर्माले झूटो विवरण दिई वंशजका आधारमा नेपाली नागरिकता लिएको दाबी थियो। श्रेष्ठ कुनै बेला शर्माका घरपति थिए।
 
भाडामा बस्दै गर्दा दुईबीच आपसमा यति प्यार बढ्यो- निसन्तान शर्माले श्रेष्ठका छोरा सुनिललाई धर्मपुत्रका रूपमा स्वीकार गर्ने निधो गरे। डिग्रीसम्म पढाए पनि। ललितपुर कुसुन्तीमा रहेको आठ आना जग्गा, साढे तीनतले घर र गाडी पनि उनकै नाममा बनाइदिए। 
 
त्यतिमात्र होइन कुलेश्वरमा रहेको प्रिज्म पार्टी प्यालेस पनि सुनिलकै जिम्मा थियो। समयक्रमसँगै लोभ अझ बढ्दै गयो। शर्माका अनुसार सबै जायजेथा हत्याउने योजनामा श्रेष्ठका बाबुछोरा लागे। लोभ झगडाको बिउमा परिणत भयो।
 
'गुनको बदला बैगुन भयो। उल्टै मलाई थुनाएर बाउछोराले बाँकी सबै सम्पत्ति खाने प्रपञ्च गरे', शर्मा भन्छन्, 'साढे दुई करोड रुपैयाँ लगानी रहेको पार्टी प्यालेस र गाडी बेचेको हिसाबसमेत दिएनन्। सम्झौताका सबै कागजपत्रसमेत कब्जामा लिए।' 
 
श्रेष्ठले विदेशी नागरिकताको विवाद झिकेर शर्माविरुद्ध ललितपुर सीडीओ कार्यालयमा उजुरी दिए। शर्मालाई पक्राउ गरियो। प्रहरीले मुचुल्का उठाएर जिल्ला अदालत ललितपुरमा मुद्दा दायर ग:यो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि शर्मा जेल गए। 
 
२०६८ असोजदेखि ६९ चैतसम्म १८ महिना जेल बसे। पछि फैसला हुँदा सफाइ पाएर उनी थुनामुक्त भए। जिल्ला अदालतबाट २०६९ चैतमा भएको फैसलामा शर्मा भारतीय नागरी भएको कुनै प्रमाण नभएको उल्लेख छ। जिल्लाले सफाइ दिएपछि फैसलाविरुद्ध पुनरावेदन अदालत पाटनमा फेरि मुद्दा चल्यो। 
 
पुनरावेदनका न्यायाधीश शिवराज अधिकारी र चण्डीराज ढकालको संयुक्त इजलासले पनि शर्मा भारतीय नागरिक रहेको भनेर प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षले प्रमाणित गर्न नसकेको भन्दै सफाइ दिलायो।
 
श्रेष्ठले शर्माविरुद्ध जाहेरी दिँदा जन्म स्थान फरकफरक देखिएको, बाबुको नागरिकता नभए पनि वंशजका आधारमा नागरिकता लिएको, नेपालमा सम्पत्ति पनि नभएको, नातासम्बन्धको कुनै व्यक्ति नरहेकोजस्ता आधार लिएका थिए। 
 
शंकाका आधारमा कसैलाई भारतीय नागरिक भन्न नमिल्ने निर्णय गर्दै गत माघ १३ गते पुनरावेदनले शर्मालाई अभियोगबाट अन्तिम सफाइ दिलायो र नेपाली नागरिक रहेको ठहर गर्‍यो।
जेलबाट छुटेपछि श्रेष्ठकै दुईवटा नागरिकता रहेको सुइँको पाए शर्माले। 'जस्तालाई तस्तै' जबाफ दिन शर्माले गृह मन्त्रालय, ललितपुर जिल्ला प्रशासन र ललितपुर प्रहरी परिसरमा सप्रमाण उजुरी दिए। 
 
श्रेष्ठले पहिलो नागरिकता २०३१ साल फागुन १६ गते र दोस्रो नागरिकता २०४० साल चैत १८ गते लिएको प्रमाण शर्माले पेस गरेका छन्। पहिलो नागरिकता नम्बर २१९० (०३१/०३२) र दोस्रो ४११ (०४०/४१) रहेको जनाउसमेत दिइएको छ। उक्त उजुरीका आधारमा गत फागुन १७ गते प्रहरीले श्रेष्ठलाई पक्राउपुर्जी जारी गरेको छ।
 
'झुठा विवरण पेस गरी दोहोरो नागरिकता लिएको मुद्दामा फरार रहेकाले प्रतिवादी राम श्रेष्ठको आआफ्नो वडा एरियामा खोजतलास गरी फेला परेमा पक्राउ गरी यस परिसरमा दाखिला गर्नुहुन अनुरोध गरिएको छ', पक्राउपुर्जीमा लेखिएको छ। 
 
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले अनुसन्धान हुँदा श्रेष्ठकै दुईवटा नागरिकता फेला परेको बताए। 'पक्राउपुर्जी जारी भएको छ। अहिलेसम्म पक्राउ गर्न सकिएको छैन', पराजुलीले भने।






प्रतिक्रिया दिनुहोस्...