बाग्मती सफाइ सकेर टिचिङ पुगेका मुख्यसचिवले डा. केसीलाई भने,‘म बाग्मती सफा गर्छु -
काठमाडौं,चैत १४ – नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेल त्रिवि शिक्षण अस्पतालमा विविध माग राखेर ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको आन्दोलनमा आफ्नो पूर्ण समर्थन र साथ रहेको जनाउँदै स्वास्थ्य क्षेत्रमा रहेका विकृतिहरु हटाउन केसीले थालेको आन्दोलन सह्रानीय भएको बताएका छन् । बाग्मती सरसफाइ अभियानमा सहभागी भएर डा. केसी अनसनरत त्रिवि शिक्षण अस्पताल पुगेका मुख्य सचिव पौडेलले बाग्मतीमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि फोहोर थुप्रिएकाले त्यसको सरसफाइ गर्नुको विकल्प नभएको बताए । ‘बाग्मती जस्तै स्वास्थ्य क्षेत्रमा पनि फोहोर छ,’ मुख्यसचिव पौडेलले डा. केसीको आन्दोलनमा ऐक्यवद्दता जनाउँदै भने,‘म बाग्मतीको फोहोर सफा गर्छु,तपाईं स्वास्थ्य क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्नुस्,तपाईंलाई मेरो पूर्ण साथ र समर्थन रहन्छ ।’ पौडेल शनिबारको बाग्मती सफाईं अभियान सकाएर अगुवाहरुसँगै त्रिवि पुगेका थिए । मुख्यसचिव पौडेल लामो समयदेखि बाग्मती सफाइ अभियानमा जोडतोडका साथ लागिरहेका छन् ।

