ओली निवासमा प्रधानमन्त्री, डेढ घन्टा छलफल


भक्तपुर, चैत्र १४ । राजनीतिक गतिरोधको निकास र संविधान जारी गर्ने मिति तय गर्ने विषयमा शनिबार प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ । ओली निवास बालकोटमा दुई नेताबीच संविधान लेखन प्रक्रिया, दलहरुबीच सहमतिको सम्भावना र सरकारको काम–कारबाहीबारे विस्तृत कुराकानी भएको थियो ।

करिब डेढ घन्टा लामो भेटवार्ताका क्रममा प्रधानमन्त्री कोइराला र अध्यक्ष ओलीले राजनीतिक गतिरोधको निकास र संविधान लेखनको सन्दर्भमा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएको बताइएको छ । ‘सहमतिबाटै संविधान लेखन प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन अधिकतम् प्रयास गर्ने र त्यसो हुन नसके प्रक्रिया अघि बढाउने’ विषयमा पनि दुई नेताबीच सहमति बनेको छ । ओलीसँगको भेटवार्तापछि सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कोइरालाले ‘आफूहरु सहमतिबाटै अघि बढ्ने पक्षमा रहेको’ बताए । संविधान लेखनको सन्दर्भमा पनि सहमतिकै लागि प्रयास गरिने उनको भनाइ थियो । स्रोतका अनुसार प्रधानमन्त्री कोइराला र अध्यक्ष ओलीबीच आमरण अनसनरत डा. गोविन्द केसीको अनसन तोडाउने विषयमा पनि कुराकानी भएको थियो । यस्तै, परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच सहमतिमै संविधान निर्माण गर्ने र घोषणा गर्नेबारेमा छलफल भएको जानकारी दिए । विपक्षीले सुरु गरेको आन्दोलनको औचित्य नभएको भन्दै उनले विपक्षी दलले आन्दोलन फिर्ता गरेर सहमतिमा आउनुपर्नेबारेमा छलफल भएको बताए ।




प्रतिक्रिया दिनुहोस्...