अस्ट्रेलियासँग हार्दा धोनीलाई एकहजार इनाम !
एजेन्सी – भारतीय टोली सेमिफाइनलमा अस्ट्रेलियासँग ९५ रनले पराजित हुँदै जारी विश्वकपबाटै बाहिरिएपछि भारतीयहरु निकै दुःखी बनेका छन् । भारत पराजित भएको दिन कतिपय भारतीयले आफ्नो घरको टेलिभिजन सडकमा ल्याएर फोडेनन् मात्रै खेलाडीहरुको तस्बिरसमेत जलाए ।
तर,भारतीय सिभिल डिफेन्सका एक आइपिएस अफिसरले भने कप्तान महेन्द्रसिंह धोनीलाई इनाम दिएर सबैलाई आश्चर्यमा पारेका छन् । त्यो पनि एकहजार रुपैयाँको इनाम ।
ती अधिकृतले धोनीलाई व्यंग्य गर्नका लागि त्यो इनाम दिएका होइनन् । बरु धन्यवाद दिन कप्तान धोनीलाई सो रकम दिएका हुन् । अस्टे«लियासँगको पराजयसँगै तीव्र आलोचना भइरहेका बेला ती आइपिएस अधिकारीले भने भारत सेमिफाइनलमै पराजित भएर राम्रो गरेको तर्क गरेका छन् । उनले भारतीय टोलीको खेल भएको दिन सरकारी कार्यालयहरुमा कामकाज ठप्प हुने गरेको बताएका छन् । सबै कर्मचारीहरु आफ्नो काम छाडेर खेल हेर्ने गरेकाले त्यसले देशको समग्र विकासमै प्रतिकुल पर्ने गरेको उनको भनाइ छ ।
त्यसैले उनले भारतले सेमिफइनल नखेल्दा एक दिन नै भए पनि सरकारी कार्यालयहरुमा कामकाज सुचारु हुने भएकाले सेमिफाइनलमा पराजित भएकोमा कप्तान धोनीलाई धन्यवादस्वरुप सो इनाम दिएको बताएका छन् । उनले एक हजारको चेक धानीको राँचीस्थित घरमै पुर्याइँदिएका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

