नेपाली नेताको गालामा मोदीले हानी रहे झापड (भिडियो सहित)


मिडिया एनपी, काठमाडौं । गत वर्षको साउनमा नेपाल भ्रमणमा आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली नेताको गडगडाहट तालीको स्वाद चाख्दै नेपालको प्रशंसा गरेका थिए । जेठमा भारतको सत्ता सम्हाले लगत्तै साउनमा नेपाल भ्रमणमा आएका मोदीले नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै बारम्बार भनेका थिए, ‘शान्तिका दूत भगवान गौतम बुद्धको जन्मभूमि नेपालको शान्ति प्रक्रिया र संविधान लेखन विश्वको लागि उदाहरणीय छ । नेपालबाट द्वन्द्व व्यवस्थापनका सम्बन्ध विश्वले पाठ सिक्न सक्छन् । ’ मोदीका उक्त भनाइहरु भूईंमा झर्न नपाउँदै हाम्रा माननीय सांसद, मन्त्री र नेताहरुले आफू अगाडिको टेबल भाँचिने गरी बजाएका थिए ।
‘बुद्ध नेपालमा जन्मिएको’ वाक्य बारम्बार दोहोर्याएका मोदीले नेपालको जल, जमिन, पर्यटन विकासको सम्भावना रहेको नेपाली नेताहरुलाई सम्झाइदिँदा पनि संसदमा तालीको वर्षा भएको थियो । यद्यपी मोदीको उक्त भनाइमा नेपाली नेताहरुको ताली अनावश्यक रहेको भन्दै कतिपयले उतीखेरै टिप्पणी पनि गरेका थिए । नेपालको सम्भावनाका बारेमा यहाँका नेताहरुलाई अरुले सम्झाइदिनु पर्ने तथा बुद्ध नेपालमै जन्मिएकाले मोदीको उक्त भनाइमा ताली बजाउनुको कुनै अर्थ नरहेको भन्दै उनीहरुले टिप्पणी गरेका थिए । तर, मोदीको कुटिल चालमा नेताहरु फसेको पत्तो त्यतिखेर चाल पाए जतिखेर मोदीले जापान पुगेर ‘बुद्ध भारतमा जन्मिएको’ भने । नेपाल भ्रमण सकेर स्वदेश फर्केको केही समयपछि नै जापानमा पुगेर ‘भारतमै बुद्ध जन्मिएको हो’ भनेर नेपाली नेताहरुको गालामा झापड हान्न सुरु गरेका मोदीले आजपर्यन्त हानी रहेका छन् ।
विश्वका कतिपय मुलुकको पाठ्यक्रममा पनि ‘बुद्धको जन्मभूमि भारत’ भनी उल्लेख गरेको सन्दर्भमा मोदीले दिइरहने उक्त अभिव्यक्तिप्रति नेपाली नेताहरुले कुनै आपत्ति जनाएका छैनन् भने सरकारले पनि कानमा तेल हालेर बसेको छ । जापानपछि जर्मन र फ्रान्समा पुगेका मोदीले त्यहाँ पनि ‘बुद्धको जन्मभूमि भारत’ भनि दोहोर्याइरहे । आफ्नो गालामा झापड हानिरहेका मोदीका उक्त अभिव्यक्ति प्रति आपत्ति नजनाउनु नेपाली राजनीतिज्ञको कमजोरी मात्रै हो या सार्वभौममाथिको आक्रमणप्रति आँखा चिम्लनु ? भारतको निगाहमा मुलुकको राजनीतिको जोडघटाउ गर्दै सत्ताको भागबण्डा गर्ने नेपाली राजनीतिक दलका नेताहरुले मोदीको उक्त अभिव्यक्तिप्रति विरोध गर्ने ताकत राख्छन् भन्नेमा आम नागरिकले विश्वास कत्तिको गरेका होलान र ?
जर्मनकी चान्सलर एन्जेला मर्केल उपस्थित एक कार्यक्रम तथा फ्रान्समा भारतीय समुदायले आयोजना गरेको कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले बुद्ध भारतमा जन्मिएको बताए । उनले महात्मा गान्धी र गौतम बुद्ध भूमि भारतलाई राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य बनाउनु पर्ने माग गरे ।





प्रतिक्रिया दिनुहोस्...