चमत्कारिक उद्धारका नायक सशस्त्र प्रहरीका लक्ष्मण बस्नेत


राजेश कुईकेल / उज्यालो । काठमाडौं, वैशाख १७ – बिहीबार दिउँसो १२ बजेको समय, काठमाडौंको गोंगबु चोक नजिकै सशस्त्र प्रहरीसँगै स्थानीयवासिन्दा नारावाजी गर्न थाले । सशस्त्र प्रहरीका केही जवानले प्रहरी निरीक्षकलाई उचालिरहेका थिए ।
केहि क्षणमै सशस्त्र प्रहरीका ती इन्स्पेक्टरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका क्यामेराले घेर्न थाले । सशस्त्रका ती इन्स्पेक्टरको खुशीको सीमा नै थिएन । सञ्चार माध्यमलाई उत्तर दिन भ्याइनभ्याइ भयो । इन्स्पेक्टरले यति चमत्कारिक काम गरेका थिए कि जसले गर्दा उनीप्रति सबैको ध्यान गएको थियो । ती व्यक्ति थिए सशस्त्र प्रहरी बल विपत व्यवस्थापन सेलका प्रहरी निरीक्षक लक्ष्मण बस्नेत । र, उनले ५ दिनदेखि घरले पुरिएर लगभग सबैले माया मारिसकेका एक यूवा पेम्वा लामालाई ज्यानको बाजी थापेर जीवितै उध्दार गरि बाहिर निकालेका थिए  । 
शनिबार नेपालमा गएको विध्वंसकारी भूकम्पमा सात तलाको घरमुनि थिचिएका नुवाकोटका पेम्वा लामालाई बस्नेत नेतृत्वको टोलीले छैठौं दिन जिवितै उद्धार गरेको हाे । गोंगबुका हिल्टन गेष्ट हाउसको सात तले भवनको पहिलो तलामा थिचिएर बसेका लामालाई आफ्नो ज्यानको बाजी लगाएर बस्नेतले जिवितै उद्धार गर्नुभयो । लामालाई शकुसल बाहिर निकालेपछि इन्स्पेक्टर बस्नेतले भने, ‘यो हामी सवैको सफलता हो, यो क्षणमा म केहि बोल्न सकिरहेको छैन किन कि एक असंभव तथ्यलाई हामीले संभव तुल्याउन सफल भएका छौं ।’ अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा हजारौं सर्वसाधारणका अघि निकै भावुक मुद्रामा प्रस्तुत भएका बस्नेतको अनुहारले प्रस्ट देखाउथ्यो कि उहाँले कस्तो सफलता प्राप्त गर्नुभएको छ भनेर । अन्य उद्धारकर्मी भित्र पस्न नमानिरहेका बेला भवन भित्र पसेका बस्नेतले निकै कुशलता तथा सावधानीपूर्वक झण्डै ६ घण्टा लगाएर लामालाई नयाँ जीवन दिनुभयो । हजारौं मानिस र सुरक्षाकर्मीको ताली र वाहवाहीका बिच बस्नेतले लामालाई उद्धार गर्न निकै कठिन र चुनौतिपूर्ण रहे पनि सवै उद्धारकर्मीको सहयोगले सफलता हासिल गरेको बताउनुभयो । ‘देशमा भूकम्पका कारण हजारौको ज्यान गएता पनि छैठौं दिनमा एक युवकलाई नयाँ जीवन दिन सकिएको छ, यो नै हाम्रो लागि ठुलो कुरा हो ।’ उहाँले भन्नुभयो । आफ्नो ज्यानको बाजी राखेर देशका लागि काम गर्न पाउनु आफ्नो लागि निकै ठूलो उपलब्धि भएको बताउँदै बस्नेतले भूकम्प पीडितको उद्धारका लागि खटिरहने बताउनुभयो ।विहान ६ बजेदेखि अमेरिकाका उद्धारकर्मीको सहयोगमा उद्धारका काम थालेका सशस्त्र प्रहरीका इन्सपेक्टर बस्नेतको बहादुरीको स्थानीय बासिन्दाले खुलेर प्रशंसा गरेका छन् भने आम मानिसले जयजयकार । बस्नेतले २ दिनअघि मात्र पनि त्यही ठाउँमा एक जनालाई उद्धार गर्दा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।





प्रतिक्रिया दिनुहोस्...