भूकम्पको ६२ घन्टापछि जीवितै उद्धार
सुनमाया श्रेष्ठलाई भूकम्पको ५३ घन्टापछि जीवितै उद्धार गर्दै नेपाली सेना।
काठमाडौं–नेपाली सेनाले राजधानीका विभिन्न स्थानबाट भूकम्पमा फसेकाहरुलाई जीवितै उद्धार गरेको छ। सेनाको विशेष फौजले गोंगगुबाट एक जनालाई ६२ घन्टापछि जीवितै उद्धार गरेको हो। गोंगबुमा भत्किएको लमजुङ रेसुङ्गा होटलबाट सेनाको टोलीले रसुवाका जोन केसीलाई जीवितै उद्धार गरेको छ। चिनियाँ र टर्किस टोली समेत सहयोगमा सेनाले जीवित उद्धार गर्न सफल भएको हो। पुरिएर गम्भीर घाइते भएका उनलाई तत्कालै सेनाले अस्पताल पु¥याएको थियो। बालाजु माछापोखरी स्थित लुम्बिनी लालीगुराँस होटल भत्केर पुरिएकी सुनमाया श्रेष्ठलाई पनि सेनाले जीवितै उद्धार गरेको छ। भूकम्पको ५३ घन्टापछि जीवितै उद्धार गरिएकी उनलाई सेनाले जनप्रिय अस्पताल पुराएको थियो। उनको शरीरमा चोट लागेको छ। यसैगरी नेपाली सेनाले भक्तपुरको गेलाबाट ५२ घन्टापछि ३५ बर्षीय चन्द्रवणी गमजुलाई जीवितै उद्धार गर्न सफल भएको छ। उनी अपाङ्ग थिइन्। भुइँ तलामा रहेकी उनलाई साततले घरले पूरेको थियो। हातले टाउको छोपेर घुँडा टेकेर बसेको अवस्थामा उनी भेटिएकी थिइन्। उद्धारको क्रममा पूरिएको माटो हल्लेपछि सेनाले खोतलेको थियो। नयाँ बसपार्कमा भत्किएको पाँच तले घरबाट पनि सेनाले ३० बर्षीया सीता खनाललाई भूकम्प गएको २९ घन्टापछि जीवितै उद्धार गरेको छ। भत्किएका ठाउँहरुमा अझै पनि जीवितै उद्धारको सम्भावना रहेको नेपाली सेनाले जनाएको छ।