गाउँ गाउँमा भोकमरी, खोइ कता हरायो नेपाल सरकार ?
विनाशकारी महाभूकम्पले नुवाकोेट जिल्लाका विभिन्न गाविसका ९५ पतिशतभन्दा बढी घर भत्किएका छन् । नुवाकोट सदरमुकामका केही घरबाहेक अधिकांश घर कामै नलाग्ने गरी भत्किएका छन् । घर भत्किएसँगै सबै अन्नपात तथा खानेकुरा घरमा पुरिएपछि गाउँगाउँमा भोकमरी सुरु भएको छ । नागरिक न्युज डटकममा खबर छ ।
'हामीलाई चामल चाहियो, ओत लाग्ने टेन्ट चाहियो' भन्दै गाउँलेहरुले फोन गरे पनि केही पनि सामग्री उपलब्ध गराउन नसकेको नुवाकोेटमा रहेका कांग्रेस नेता जगदीश्वर नरसिंह केसीले बताए । नुवाकोट तथा रसुवाका गाउँलेहरुसँग खाने सामान नभएकाले भोकमरी सुरु भएको उनको भनाइ छ ।
दुई दिनदेखि परेको पानीले अधिकांश गाउँलेको बिजोग भएको छ । विपन्न समुदायको बाहूल्य रहेको गाउँमा त्रिपाल नहुँदा भिजेरै रात काटनुपर्ने अवस्था छ । नुवाकोट जिल्लाका सबै बासिन्दाका लागि ५० हजार टेन्ट माग गरे पनि सरकारले अहिलेसम्म एउटा पनि टेन्ट पठाउन सकेको छैन । गाउँलेहरुले आफ्नै हिसाबले सुरक्षा गरिरहेका छन् ।
विभिन्न गाउँहरुमा घरहरुले थिचेर घाइते भएका व्यक्तिहरुलाई उद्धार गर्न सकिएको छैन । सेनाको हेलिकोप्टरले सोमबारदेखि उद्धार थाले पनि त्यो पर्याप्त हुन सकेको छैन । भग्नावशेषमा पुरिएर रहेका व्यक्तिहरुलाई निकाल्न सक्ने अवस्था छैन ।
नुवाकोटको विदुर नगरपालिकाका साथै जिलिन, थानसिंह, मदानपुर, गेर्खुलगायत गाविसमा अत्यधिक मानवीय क्षति भएको छ । नुवाकोटमै रहेका कांग्रेस नेता केसीका अनुसार नुवाकोटका विभिन्न गाविसमा भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या पाँच सय बहत्तर पुगेको छ । विकट गाउँमा टेलिफोन अवरुद्ध भएकाले भूकम्पबाट भएको क्षतिको यकिन तथ्यांक आउन बाँकी छ । केसीका अनुसार सबै ठाउँको तथ्यांक आएपछि मृतक संख्या अहिलेको भन्दा अत्यधिक हुन्छ । विकट गाउँगाउँमा घाइते र मृतकको संख्या भए पनि राज्यको ध्यान केवल सदरमुकाम आसपासमा मात्र केन्द्रीत छ ।
यसैगरी, नुवाकोटको तुलनामा रसुवामा अत्याधिक मानवीय क्षति भएको छ । अहिलेसम्म रसुवा सदरमुकाम धुन्चेलगायत आसपासका सबै गाविस गरी एक हजारभन्दा बढीको मृत्यु भएको छ । रसुवामा मृतक संख्या हजारभन्दा बढी हुनसक्ने अनुमान छ ।नागरिक न्युज डटकममा खबर छ ।

