गृहमन्त्रीले भुकम्प पिडितहरुलाई पालसम्म उपलब्ध गराउन नसकेको भन्दै सभासदले चर्को बिरोध गरे
सरकारले भूकम्पबाट पीडित बनेकाहरुको उद्धार र राहत वितरणमा तदारुकता नदेखाएको भन्दै सभासदहरुले गृहमन्त्री बामदेब गौतमको चर्को आलोचना गरेका छन्। | |
काठमाडौं, वैशाख १५ । सरकारले भूकम्पबाट पीडित बनेकाहरुको उद्धार र राहत वितरणमा तदारुकता नदेखाएको भन्दै सभासदहरुले गृहमन्त्री बामदेब गौतमको चर्को आलोचना गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको व्यवस्थापिका संसदको राज्य व्यवस्था परामर्श समितिको बैठकमा सभासदहरुले खुला ठाँउमा बसेका जनतालाई पालसम्म उपलब्ध गराउन नसकेको भन्दै गृहमन्त्री गौतमको चर्को आलोचना गरेका हुन् । बैठकमा छोटोमा आफ्नो भनाइ राखेर बाहिरिन खोजेका गृहमन्त्री गौतमलाई सभासदहरुले रोकेका थिए । उद्धार र राहतमा ध्यान नदिएको भन्दै कांग्रेस सभासदहरु नविन्द्रराज जोशी र रामकृष्ण यादवले चर्को आलोचना गरेपछि गृहमन्त्री गौतम पुरै समय बैठकमा बसेका थिए । बैठकमा एमाले सभासद तथा पूर्वप्रधानमन्त्री माधव नेपालले आफूले पटक–पटक गृहमन्त्रीलाई सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेपछि उनलाई भेट्नकै लागि समितिको बैठकमा आएको बताए । उनले कुनैपनि ठाउँमा पाल पठाउन नसकेको भन्दै सरकारको कडा आलोचना गरे । नेपाली कांग्रेसका सभासद नविन्द्रराज जोशीले मन्त्रीहरुले उद्धार र राहत कार्यलाई तीव्रता दिएको बताए पनि जनताले कुनै राहत पाउन नसकेको बताए । बैठकमा एकीकृत माओवादीका सभासद गिरिराजमणि पोखरेलले खुल्ला आकाशमुनि बसेका जनताले सभासदहरुमाथि आक्रोश पोखिरहेको भन्दै पीडितका लागि सरकारले कुनै काम गर्न नसकेको टिप्पणी गरे । सभासदहरुको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री गौतमले अहिलेको विपतिको व्यवस्थापन गर्न सरकार एक्लैले नसक्ने बताए । उनले विदेशी सहयोग आउनेक्रम सुरु भएको भन्दै त्यसको दुरुपयोग हुन नदिने प्रतिबद्धता बताए । समितिको बैठकले पीडितको उद्धार र राहत वितरणमा पर्याप्त ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । बैठकले खानेपानीको व्यवस्थापन, आबश्यक मात्रामा पाल र सवारी–साधन चलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । कृत्रिम अभाव र कालोबजारीे नियन्त्रणका लागि पनि सरकारलाई निर्देशन दिइएको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी दिए । | |