महाभुकम्पमा परी मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो, हालसम्म ९८ वटा धक्का महशुस
काठमाडौं, बैशाख १५ । गत शनिबार गएको महाभूकम्पबाट मृत्यु हुनेको संख्या ४३ सय नाघेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अहिलेसम्म ४३ सय १० जनाको मृत्यु भएको हो ।
कयौं व्यक्ति अझै वेपत्ता छन् । मृतक र घाइतेको संख्या बढ्दो अवस्थामा छ । भूकम्पबाट नेपाल, भारत र तिब्बतमा गरी ४६ लाख मानिस प्रभावित
भएको अुनमान संयुक्त राष्ट्रसंघले गरेको छ ।
भूकम्पबाट सबैभन्दा बढी असर परेको राजधानीका तीन जिल्ला र वाग्मती अञ्चलका अरु जिल्लामा उद्धार र राहतको काम भइरहेको छ ।
मानवीय र धनजनको ठूलो क्षति व्यहोरेका जिल्लामा भूकम्पको मूख्य केन्द्र रहेको गोर्खा, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, घादिङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लमजुङ, चितवन रहेका छन् ।
घाइतेहरुको काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पतालहरु पनि घाइतेले भरिएका छन् । भूकम्पका कारण हजारौं घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
शनिवारदेखि आज बिहान ५ बजेर ५ मिनेट जाँदासम्म चार रेक्टर स्केलमाथिका भूकम्पका ९८ वटा धक्का महशूस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
