चार युवतीलाई ललाईफकाई यौन धन्दामा लगाउने महिला पक्राउ
बैशाख २२ गते-युवतीहरुलाई ललाईफकाई यौन धन्दामा लगाउने एक महिला कास्कीबाट पक्राउ परेकी छिन् । पोखराको नागढुङ्गामा रहेको निरभाना रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी ४२ बर्षीय कमला शेरचनलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।
पीडितहरुले आफुहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको उजुरी प्रहरीमा गरेपछि, उनी फरार रहेकी थिईन् । रेष्टुरेण्टमा कार्यरत चार जना युवतीहरुलाई उनले रेष्टुरेण्टको सामान्य र सरसफाईको काम लगाउने भन्दै जबरजस्ती यौनधन्दामा लगाएकी थिइन् ।
पीडित युवतीहरुले प्रहरीमा दिएको जाहेरीमा ग्राहकहरुसँग जान नमानेमा शेरचनले डरत्रास देखाई धम्की दिने गरेको उल्लेख छ । पक्राउ परेकी शेरचनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्धामा छुट्टाछुट्टै मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिएका छन् ।
उनी विरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।