त्रिभुवन विमानस्थलको धावनमार्ग कमजोर


चार्टर उडानका ठूला जहाज अवतरणमा रोक
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कमजोर बन्दै गएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ९६ टनभन्दा बढी क्षमतका जहाज अवतरणमा रोक लगाएको छ। 
 
वैशाख १२ गते गएको विनाशकारी भूकम्पपीडितलाई राहत तथा उद्धार गर्न विदेशी नियोगबाट ठूला र धावनमार्गको क्षमताभन्दा बढी तौलका जहाज आएकोले अनिश्चितकालका लागि ठूला जहाज अवतरणमा रोक लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। 
 
ठूला जहाजलाई रोक लगाएका कारण आइतबार बिहान क्यानाडाबाट आउने तयारीमा रहेका तीनवटा विमान आउन नपाएको उनले बताए।
 
तीन हजार मिटर धावनमार्ग रहेको विमानस्थलमा अहिले नियममित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या नै दैनिक २६/२७ छ। 
 
विमानस्थलबाट दैनिक चार सयदेखि चार सय ५० वटासम्म उडान हुने गरेकोले छ। सामान्य अवस्थामा तीन सयसम्म उडान हुने विमानस्थलमा एक्कासि उडान बढ्दा व्यवस्थापन मिलाउनै हम्मेहम्मे परेको विमानस्थल कार्यालयको भनाइ छ। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बीचबीचमा उप्किने, प्वाल पर्ने र भत्कने भएकोले नियमति मर्मत भइरहेको छ।
अघिल्लो शनिबारदेखि चार्टरमा आउने सेनाका ठूला जहाजले धावनमार्ग बिगारेको र धावनमार्ग नै कमजोर भएकोले बाध्य भएर रोक लगाउनुपरेको श्रेष्ठले बताएका छन्। 'हामीले ठूला जहाज ल्याउनै नदिने भनेको त होइन' उनले भने, 'लोड घटाएर एक सय ९६ टनभन्दा कमका मात्र आउनु भनेर सबैलाई पत्राचार गरेका छौं।'
 
महाभूकम्पपछि राहत तथा उद्धार टोलीका नाममा विमानस्थलमा दिनदिनै चार्टर उडानका ठूला जहाज आइरहेकोले धावनमार्ग बचाउनु नै पहिलो प्राथमिकता भएको श्रेष्ठको भनाइ छ। 
 
नियमित व्यावसायिक उडानका जहाजलाई भने रोक लगाइएको छैन। विमानस्थलमा ठूला जहाज अवतरण गर्दा धावनमार्ग कमजोर हुने र पार्किङसमेत ओगटेर अरूलाई अवतरण गर्न समस्या हुने भएको भन्दै सर्वसाधारणले समेत विरोध गर्ने अवस्थामा पुगिसकेकोले पनि निश्चित टनभन्दा बढीकोलाई रोक लगाइएको हो। 
पछिल्लो समय नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थमा बढेको उडान चाप तथा धावनमार्गको क्षमताभन्दा ठूला जहाजका कारण धावनमार्ग नै कमजोर भएको विमानस्थल कार्यालयको भनाइ छ। 
 
यसमा पनि शनिबारको भूकम्पले धावनमार्ग आफैंमा कमाजोर भएको छ। एक सातामा दुईपटक धावनमार्ग बिग्रँदा विमानस्थल नै बन्द गरेर मर्मत गरिएको विमानस्थल कार्यालयको भनाइ छ। विमानस्थल कार्यालयका अनुसार शुक्रबार र शनिबार दुई पटक धावनमार्ग मर्मत भइसेको छ।
 
शुक्रबार बिहान टर्किस एयरको विमान अवतरण गरेपछि धावनमार्ग मर्मत गर्नु परेको थियो। विमानस्थल मर्मतपछि मात्र कोरियन एयरको जहाज अवतरण गरिएको विमानस्थल कार्यालयको भनाइ छ। 
 
आर्मीका जहाजको तौल निकै धेरै हुने भएकोले पनि भोलिका लागि धावनमार्गकै कारण कुनै असहज अवस्था नहोस् भनेर राहत ल्याउने नाममा आउने ठूला जहाजको अवतरण रोकिएको श्रेष्ठले बताए।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बीचबीचमा उप्किने, प्वाल पर्ने र भत्कने भएकोले नियमति मर्मत भइरहेको जानकारी पनि उनले दिए। 
शनिबारदेखि बढेको चापका कारण विमानस्थल कार्यालयले चौबीसैघन्टा विमानस्थल सञ्चालन भइरहेको छ। नियमित रूपमा विमानस्थल सञ्चालन भएकोले अत्यन्त जरुरी र गम्भीर अवस्थाबाहेकमा बिदासमेत नगरिएको विमानस्थलका एक कर्मचारीले बताए।
 
यसअघि दुई वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पटकपटक बिग्रन थालको भन्दै ठूला जहाज अवतरण नगर्न सम्बन्धित विमान कम्पनीलाई पत्राचार गरेको थियो। 
 
त्यतिबेला अनुरोधमात्रै गरिएको भए पनि यसपालि भने व्यावहारिक रूपमै कार्यान्वयन गरेको दाबी पनि विमानस्थल कार्यालयको छ। अहिले पनि यो विमानस्थलमा जोखिम मेलेरै धावनमार्गको क्षमताभन्दा ठूला जहाजबाट उडान तथा अवतरण हुने गरेको छ। 
 
एयरबस ३३०, ३४० र बोइङ ७७७ नामका जहाजलाई अवतरण नगर्न प्राधिकरणले पटकपटक आग्रह गर्ने भए पनि व्यावहारिक रूपमा कार्याव्यन हुन सकेको छैन।
 
अहिले त्रिभुवन विमानस्थलमा ७० देखि तीन सय टन माथिका वायुसेवाले उडान तथा अवतरण गरिरहेका छन्। नेपालमा हाल टर्किस एयर, कोरियन एयर, कतार एयर, इत्तेहाद एयर, थाई एयरवेज, एयर अरेबिया, एयर एसिया एक्सलगायतका वायुसेवाले ठूला जहाजबाट उडान गरिरहेका छन्। 
 
भारतीय, चिनियाँ, अमेरिकी, बेलायतीसहितका विभिन्न देशबाट आर्मीका ठूलाठूला जहाज चार्टरमा आएकोले धावनमार्ग जोगाउने र अहिले बढेको उडान व्यवस्थित गर्न समस्या भएको छ।
 
विमानस्थलको क्षमताका सम्बन्धमा पूर्ण विवरण एरोनोटिकल इन्फरमेसन पब्लिकेसनमा प्रकाशन गरिने भए पनि यहाँको धावनमार्गको अवस्था थाहा हुँदाहुँदै पनि अटेर गरी ठूला जहाज आउने गरेको विमानस्थल कार्यालयको भनाइ छ।






प्रतिक्रिया दिनुहोस्...