हेभी इक्विपमेन्ट भइदिएको भए धरहरामा मानवीय क्षति कम हुन्थ्यो


हेभी इक्विपमेन्ट भइदिएको भए धरहरामा मानवीय क्षति कम हुन्थ्यो
जयबहादुर चन्द
प्रमुख (डीआईजी) महानगरीय ट्राफिक प्रहरी महाशाखा
शनिबार बिहान योगगुरु रामदेव, मुख्यसचिव लीलामणि पौडेल, मलगायत अन्य सुरक्षा अधिकारीहरू बाग्मती सफाइमा बल्खु क्षेत्र गएका थियौं । सफाइ कार्यक्रम करिब १० बजेतिर सकियो । बल्खुबाट म सीधै महानगरीय ट्राफिक प्रहरी महाशाखा आएर केही बेरको आरामपछि खाना खाएर उठ्नै आँटेको थिएँ । त्यही बेला टेबुल÷कुर्र्सी भुइँमा चिप्लियो । के भयो, भयो ? अन्योलमा परेँ, अत्यास लाग्यो तर सम्हालिएँ । हत्तपत्त भूकम्प गएको चाल पाएपछि लरबराउँदै जुठो हातसहित तल ओर्लिएँ । चारैतिर आफ्ना स्टाफ (प्रहरी) लाई बाहिर निस्कन कराएँ ।
महाशाखा परिसरमा रुवावासी चलिसकेको रहेछ । महानगरीय प्रहरी कार्यालयका प्रमुख (एआईजी–विज्ञानराज शर्मा) बिदामा बस्नुभएकाले उहाँको जिम्मेवारी पनि मलाई थियो । तत्कालै रानीपोखरीस्थित आयुक्त कार्यालय पुगेर बाहिर टेबुलकुर्सी राखेर पाल टाँग्न लगाएँ । धरहरा ढलेको खबर आयो । त्यसतर्फ दगुर्दै गएँ । कोलाहल भइसकेको रहेछ । उपत्यकाभर वाकीट्वाकीमा घटनाको छोटकरी विवरणसहित उद्धारकार्यमा प्रहरीलाई सर्कुलर गरेँ । एकैछिनमा धरहरा÷सुन्धारा, वीरअस्पताल, सहिदगेट आसपास चिच्याउँदै मानवसागर उर्लिसकेको थियो ।
रेडियो सेटमै प्रहरीलाई भत्केको धरहराबाट उद्धारकार्य थाल्न तथा हेभी इक्विपमेन्ट (क्रेन, डोजर, स्काभेटरलगायत सवारी साधन) खोजबिन गरी ल्याउन निर्देशन दिएँ । ट्राफिक प्रहरीलाई धरहरा आसपास सवारी बाटो खाली गराउन अ¥हाएँ । आँखाअगाडि बचाउ भन्दै चिच्याहट बढ्दै थियो । घरेलु तथा हाते औजारसहित सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत उद्धारमा स्वस्फूर्त जुीटसकेका थिए, तर विडम्बना, धरहराको भग्नावशेष हटाउन सजिलो थिएन । करिब ७०० मानिस पुरिएको हल्ला चल्यो । एकएक गरी इँटा झिकेर उद्धार गर्न सजिलो थिएन । माइक गरेर हेभी इक्विस्पमेन्ट भएका तथा ती उपकरण चलाउन जान्ने मान्छे कोही हुनुहुन्छ भनेर हामीले चिच्यायौं ।
भग्नावशेषमा माथिमाथि रहेका कतिपय घाइतेलाई जीवितै उद्धार गरी अस्पताल पु¥यायौं । तर, पुरिएका अधिकांशलाई बचाउन सकिएन । जिन्दगीमा सबैभन्दा बढी पीडादायी क्षण त्यो रहनेछ मेरा लागि । चाहेर पनि बचाउन नसकिँदा सा¥है पीडाको अनुभूति हुँदो रहेछ । सरकारी तथा निजी क्षेत्रका उद्धार तथा भग्नावशेष हटाउनका लागि हेभी उपकरण जुटाउन सर्कुलर गर्दा पनि उपलब्ध भएन । भोलिपल्ट मात्रै थाहा भयो, सरकारसँग ६ र निजी क्षेत्रका २० वटा मात्रै क्रेन उपलब्ध रहेछन् । भोलिपल्टमात्रै स्काभेटर, डोजर, क्रेनलगायत २६ वटा सवारी उद्धारमा उपलब्ध भयो ।
तर, त्यतिबेलासम्म धरहरा भग्नावशेषबाट उद्धारटोलीले शव निकाल्न थालेको थियो । जे नहुनु थियो, भइगयो, सबै सुरक्षा निकायबीच समन्वय गरी उद्धारकार्य र शव उत्खननलाई सँगसँगै अघि बढायौं । घरबाट बाहिर निस्केका लाखौं नागरिक खुला स्थानमा जम्मा भएका थिए । तत्कालै पानी वितरण गर्न सुरक्षा संयन्त्र खटिए । ट्राफिक महाशाखाले ट्यांकर व्यवसायीलाई सम्पर्क गरी पानी आपूर्ति गर्न आग्रह ग¥यौं ।
व्यवसायीहरूले हाम्रो आग्रह स्वीकारे । केही हदसम्म पानी प्यास मेटाउन सकियो भन्ने लाग्छ । त्यसपछि क्रमशः त्रसित नागरिक राजधानी छोडेर बाहिरिने क्रम बढ्न थाल्यो । हामीले देशभरका यातायात व्यवसायी, शैक्षिक संस्था सञ्चालकहरूलगायतलाई सवारी उपलब्ध गराउन भन्यौं । प्याब्सन, एनप्याब्सन, हिसानलगायतले विद्यार्थी ओसार्ने ठूला बस निःशुल्क उपलब्ध गराए । नेपाल यातायात व्यवसायी महासंघ, पोखरा, पृथ्वीराजमार्ग, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल यातायात व्यवसायीलगायतले पनि सवारी उपलब्ध गराए । ३ दिनसम्म सरकारले नै यात्रुलाई निःशुल्क सेवा प्रदान ग¥यो ।
प्रभावकारी समन्वय गरी यात्रालाई सहज बनाउन, पानी आपूर्ति व्यवस्थित गर्न, राहत–उद्धारकार्यमा केन्द्रीय दैवीप्रकोप उद्धार समितिमार्फत बन्दोबस्तीका सामान जिल्ला जिल्लामा पठाउन आवश्यक स्थल यातायातका साधन उपलब्ध गराउन पनि ट्राफिक महाशाखाले संयोजन गरेको थियो । ट्राफिक महाशाखाका एसएसपी गणेशबहादुर गुरुङ, एसपी पोषराज पोखरेलसहित सबै दर्जाका अधिकृत तथा जवानहरूले राहत÷उद्धारमा संयोजनकारी भूमिका निर्वाह गरिरहनुभएको छ । सवारी साधन उपलब्ध गराउन पनि हामीले समन्वय ग¥यौं ।
भूकम्प गएको ९ दिन पुगिसकेको छ, सुरक्षा निकायका सबै तहका कर्मचारी पनि आफ्ना जहान–परिवार÷व्यक्तिगत पीडा नभनी राष्ट्रिय विपत्तिलाई पन्छाउन चौबीसै घण्टा ड्युटीमा खटिएका छन् । यसको सबै क्षेत्रबाट कदर पनि भएको छ । हामीले शपथ खाएकै दिन राष्ट्र र जनताको हितमा अहोरात्र खटिनेछौं भनेर प्रतीज्ञा गरेका हुन्छौं । राष्ट्रिय विपत्तिमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारीले निर्वाह गरेको भूमिका वास्तवमै सपथ खाँदा गरेको प्रतिज्ञालाई पालना गरेका छौं । हाम्रा लागि यो गर्वको विषय हो । अर्कातर्फ १२ गते बिहानको त्यो पीडादायी भूकम्पले गरेको अकल्पनीय मानवीय तथा भौतिक क्षतीबाट हामीले आगामी दिनमा त्यो दोहोरिन नदिन पाठ सिक्नु जरुरी छ । हामीले यति धेरै विपत्तिमा पनि हेभी उपकरणसहित राहत÷उद्धार सामग्री समयमै जुटाउन सकेनौं । यसलाई आगामी दिनमा पाठका रूपमा लिएर सचेतना र सावधानी अपनाउनुपर्छ ।
देशभर राज्यको सबैभन्दा बढी उपस्थिति रहेको संयन्त्र भनेकै प्रहरी हो । उसलाई साधनस्रोत र जनशक्तिसम्पन्न गर्नुपर्छ । विपत्तिलाई लक्षित गरी कम्तीमा प्रत्येक जिल्ला प्रहरी कार्यालयमा चालकसहित ‘स्ट्यान्डबाई’ १–१ वटा डोजर÷क्रेन, स्काभेटर हुनुपर्छ । त्यस्तै शान्तिसुरक्षा र नियमित गस्तीमा प्रयोग हुने र अन्य ठूला सवारीमा स्टेचर, प्राथमिक उपचारजन्य औषधी उपलब्ध हुनुपर्छ । विपत् बाजा बजाएर आउँदैन । सबैले सावधानी भएर सचेतना अपनाऔं । घर÷पूर्वाधार निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक नियम पालना गरौं । यति गर्न सके र सम्भावित भूकम्प प्रतिरोधात्मक सावधानी अपनाएमात्रै २०७२ वैशाख १२ गते ११ः५६ बजे गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने हजारौं नागरिकको आत्माले शान्ति पाउनेछ ।
(डीआईजी चन्दसँग कारोबारकर्मी मातृका दाहालले गरेको कुराकानीमा आधारित ।)





प्रतिक्रिया दिनुहोस्...