झापाको दमकमा हात्तीले महिलाको ज्यान लियो
झापाको दमकमा रहेको हंसेदुम्से सामुदायिक वनमा आएको हात्तीले कुल्चिँदा आज विहान स्थानीय एक महिलाको ज्यान गएको छ । जंगली हात्तीले कुल्चिँदा दमक वडा नं. ५ ओमशान्ति चोकमा बस्दै आएकी ४५ बर्षीय धनमाया कार्कीको घटनास्थलमै ज्यान गएको हो ।
विहान करिव साढे आठ बजेतिर हात्तीले लखेटेर कार्कीको ज्यान लिएको सँगै घाँस काट्न गएकी अर्की महिला सुम्लिना बुढाथोकीले बताइन् । जंगलमा घाँस काट्दै गर्दा एक्कासी आएको हात्तीले लखेट्दा आफू चाँही भागेर बाँचेको र साथीलाई चाँही लखेट्दै लगेर कुल्चिएको बुढाथोकीले बताइन् ।
मृतक महिलाको छात्ती, पेट र खुट्टा हात्तीले कुल्चेको डाम रहेको घटनास्थलमा पुगेका सशस्त्र प्रहरी निरीक्षक जंगबहादुर भट्टराईले बताए । इलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर कार्की प्रहरी टोलीसहित घटनास्थलमा पुगेर घटना प्रकृतिबारे आफैंले अवलोकन गरेका थिए । मृतकका श्रीमान खड्गसिंह कार्कीले आफू विपन्न परिवारको भएको र राज्यले राहत उपलव्ध गराउनु पर्ने रुँदै माग गरेका छन् ।