दुबईबाट आमासँग फोनमा बोल्दाबोल्दै सुन्दरीमायाका हातखुट्टाले भर छाडे
दुबईबाट आमासँग फोनमा बोल्दाबोल्दै सुन्दरीमायाका हातखुट्टाले भर छाडे दुबई, वैशाख २३ – एक वर्षअघि रोजगारका लागि संयुक्त अरब इमिरेट्स युएई आइपुगेकी हुन्, सुन्दरीमाया लो तामाङ । सुन्दरीमायाको घर सिन्धुपाल्चोक पाँचखाल बनखुँ–९ मा हो । १२ वैशाखको विनाशकारी भूकम्पको खबर त उनले छिटै पाइन् । तर, घरमा सम्पर्क हुन सकेको थिएन ।
जब घरमा फोन सम्पर्क भयो, उनी पराईभूमिमा काम गरिरहेकै बेला लल्याकलुलुक गलिन् । 20150427_114724 १३ वैशाखमा उनको घरमा सम्पर्क भयो । जति बेला उनी एडिएनएच क्लिनिङ कम्पनीमार्फत दुबईको हेल्थ कियर सिटीस्थित डा. सुलेइमान अल हबिब क्लिनिकमा हाउस किपिङ अर्थात् सफाइको काम गर्दै थिइन् ।
फोनमा आमाले यही जनाइन्, सुन्दरीमायाका बुबा कालेसिंह लो (तामाङ)सहित मामा सफल तामाङ, मावली हजुरबा, मामाका तीन छोरा र छिमेकी तिर्थमानको कान्छा छोरा घर भत्किएर पुरिए । सुन्दरीमायाको घर ध्वस्त भएको छ भने आमा, दाजु र तीन दिनकी सुत्केरी भाउजु भत्कँदै गरेको घरको झ्यालबाट हामफालेर बाँचेका हुन् । आमाले रुँदै फोनमा यो खबर बताएपछि सुन्दरीमायाका हातखुट्टाले भर छाडे । उनकी भाउजुको खुट्टा भाँचिएको छ भने दाजु पनि घाइते छन् ।
भूकम्पले सुन्दरीमायाजस्तै धेरै प्रवासी नेपालीको खुसी लुटेको छ । रोजगारका लागि युएई आएका सिन्धुपाल्चोक बाडेगाउँका कृष्ण परियारले श्रीमती, एक छोरा, एक छोरी र बाबुआमा नै गुमाएका छन् । यो विपतको घडीमा यहाँका कतिपय कम्पनीहले नेपाली कामदारका लागि आपतकालीन न्यूनतम २० दिने घरबिदाको व्यवस्था गरेको छ भने, निःशुल्क दोहोरो हवाईटिकट उपलब्ध गराएको छ ।