एघार गाउँ पुर्ननिर्माण गरिदिने सुजाताको घोषणा
फोटो :फाइल तस्बिर
विराटनगर : कांग्रेस नेतृ सुजाता कोइरालाले भूकम्प प्रभावित एघार वटा जिल्लाका एघारवटा गाउँ पुर्ननिर्माण गरिदिने घोषणा गरेकी छिन्।
भूकम्पले तहसनहस भएका जिल्लामा छनोट गरी एघारवटा गाउँलाई आफ्नै खर्चमा ‘स्मल टाउन’को रुपमा विकास गर्ने घोषणा गरेकी हुन्।आफ्ना बुबा स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा रहेको जीपी फाउन्डेसनको सहयोगबाट ती गाउँ निर्माण गर्ने आफ्नो तयारी रहेको सुजाताले बताइन् । उनले भनिन,‘विदेशी दातृ निकायबाट पनि सहयोग गर्ने आश्वासन पाएकी छु । उनीहरुको समेत सहयोगमा फाउन्डेसनले स्मल टाउन निर्माण गर्ने हो।’
नेतृ कोइरालाले भूकम्पबाट बढी क्षति पुगेको गाविस छनौट गर्ने बताउँदै सहयोग र निर्माणमा विदेशीबाट समेत सहयोग प्राप्त हुने जानकारी दिइन् । सरकारले सकेसम्म पीडितलाई राहत दिन काम गरिहेको कोइरालाको भनाई थियो।
उनले अहिले सरकारलाई धेरै चुनौती भएको बेला उसको विरोध गर्नुभन्दा सबैले सहयोग पुर्याउनु पर्नेमा जोड दिइन्। उनले भनिन,‘हामीले जीवनमा यस्तो पीडा भोगेका थिएनौं तर देख्यौ र भोग्यौ पनि अब नयाँ पुस्ताका लागि पनि केही राम्रो काम गर्नुपर्छ।
यो हामी सबैको जिम्मेवारी पनि हो ।’ उनले भूकम्पमा राहत वितरण गर्नेदेखि पुर्ननिर्माणको काम चलिरहँदा पनि संविधान निर्माणको गति भने कम नहुने बताइन् । राहत वितरण सबैले मिलेर गर्दा हुने तर एकद्वार नीति पनि गलत नभएको स्पष्ट गरिन् ।
