पेस्तोलसहित पक्राउ गुन्डालाई युवाले प्रहरीबाट खोसे


गोरखा : दुईवटा पेस्तोलसहित पक्राउ परेका स्थानीय गुण्डा धनबहादुर घले ‘बाघे’ लाई बारपाकका युवाहरुले प्रहरीबाट खोसेर लगेका छन् ।




प्रहरीको खोजीको सूचीमा रहेका बारपाक–४ निवासी बाघेलाई दुईवटा पेस्तोलसहित पक्राउ गरेको आधा घन्टामै स्थानीयले प्रहरी नियन्त्रणबाट मुक्त गरेका हुन् ।

हतियारसहित हिड्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको सादा पोशाकको टोलीले बाघेलाई पक्राउ गरेको थियो ।

स्थानीय गुन्डालार्इ पक्रेर राखिएको गाडीमा स्थानीयले गरेको तोडफोड
पक्राउ गरलगत्तै उच्छृङ्खल युवाले प्रहरीले प्रयोग गरेको बा२झ ९०९ नम्बरको गाडी तोडफोड गरी बाघेलाई नियन्त्रणमुक्त गरेका थिए । उनीहरुले प्रहरीमाथि कुटपीट समेत गरेका थिए ।

स्थानीयको आक्रमणबाट जोगिन प्रहरी बारपाकमा उद्धारमा खटिएको नेपाली सेनाको शिविरमा पुगेका थिए ।

‘ती प्रहरीमाथि आक्रमण गर्न स्थानीयले सेनाको शिविरमा दिनभर घेराबन्दी गरे’ नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, ‘तर सुरक्षाकर्मीले भींड हटाउन सकेनन् ।’

राहत वितरणमा योगदान गरेको युवालाई पक्रेको भन्दै युवाहरु आक्रोशित भएको उनले बताए । बाघेलाई पक्राउ गर्ने प्रहरीलाई आफूमाझ सुम्पन माग गर्दै स्थानीयले शुक्रबार साँझसम्म बारपाक अराजकता मच्चाएको प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । उनीहरुले सुराकी गर्नेलाई चिनाउनसमेत दबाब दिइरहेका छन् ।

नेपाली सेनाको बेसनजिकै पुगेका स्थानीय
तनाब भएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरीको थप टोली बारपाक पुगेको छ ।

यही घटनालाई लिएर शुक्रबार अपरान्ह जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । बारपाकमा यसअघि पनि तीन पटकसम्म स्थानीय र प्रहरीबीच विवाद र झडपसम्मको अवस्था उत्पन्न भइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्...