बंगलादेश र भारतबीच डेढसय बस्ती अदलबदल गर्नेबारे सम्झौता हुने


काठमाडौं, जेष्ठ २३ । बंगलादेश र भारतबीच लामो समयदेखि विवादित रहेका डेढसय बस्ती अदलबदल गर्नेबारे सम्झौता हुने भएको छ ।

यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा जानु भएको छ । प्रधानमन्त्री मोदी र बंगलादेशी समकक्षी शेख हसिना वाजेदले एक सय ५० भन्दा बढी बस्ती अदलबदल गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

सहमतिपछिब्रिटिसकालीन समयदेखि कायम रहेको समस्या समाधान हुने अपेक्षा दुबै देशका अधिकारीहरुले गरेका छन् ।

हजारौं बंगलादेशी भारतमा रहेका ५० भन्दा बढी बस्ती र कयौं भारतीय बंगलादेशका एक सयभन्दा बढी बस्तीमा रहँदै आएका छन् । यो सम्झौतापछि ती ईलाका अदलबदल हुनसक्ने र त्यहाँका निवासीले आफ्नो राष्ट्रियता चुन्ने अधिकार पाउने छन् । उनीहरुलाई भारत र बंगलादेशमध्ये रोजेको देशमा बस्न दिइने छ ।

दुई देशबीच चार हजार किलोमिटर लामो सीमा क्षेत्रमा रहेका यी बस्ती ब्रिटिसकालीन समयदेखिका हुन् । यसबारे दुई देशबीच दशकौंदेखि विवाद रहँदै आएको थियो । यी बस्तीमा बस्नेको कुनै राष्ट्रियता नहुँदा आमसुविधाबाटै बन्चित हुँदै आएका थिए ।

यस अतिरिक्त दुई देशबीच ब्यापार, सीमापार सुरक्षा तथा मानव तस्करी रोक्नेलगायत विषयमा सम्झौता हुने बंगलादेशका विदेशमन्त्री अब्दुल हसन अलीले जानकारी दिएका छन् । (एजेन्सी)






प्रतिक्रिया दिनुहोस्...