फुटबल मैदानमा २५ मिनेट टिकेका क्याप्टेन सुशील (फोटो फिचर)


फोटो :कलाकारविरुद्धको मैत्रीपूर्ण खेलमा प्रधानमन्त्री सुशील कोइराला । तस्बिर : रजेन्द्र केसी
काठमाडौं : स्वास्थ्यका हिसाबले कमजोर मानिएका वृद्ध प्रधानमन्त्री सुशील कोइरालाले शनिबार फुटबल मैदानमा भने गजबको 'इस्टामिना' देखाए।
 
मैदानमा प्रवेश गरेदेखि नै निकै फूर्तिलो देखिएका सुशीला सबैभन्दा लामो समय मैदानमा टिक्ने शीर्ष नेता बने । उनी २५ मिनेटसम्म मैदानका निकै सक्रिय देखिए। भूकम्प प्रभावितको सहयोगका लागि आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेता र कलाकारबीच निकै रोचक भिडन्त भयो ।
सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित मैदानमा भएको खेलमा एघार नम्बर जर्सीमा प्रस्तुत प्रधानमन्त्री सुशील नेता टोलीको क्याप्टेन थिए। मुख्य दलका शीर्ष नेतादेखि युवा नेताहरुको सहभागिता थियो भने राष्ट्रिय कलाकारहरुले भाग लिएका थिए।
राजनीतिज्ञहरु हरियो जर्सीमा प्रस्तुत भएका थिए भने कलाकार रातो जर्सीमा मैदानमा उत्रेका थिए। नेता टोलीको क्याप्टेन प्रधानमन्त्री सुशील कोइराला थिए ।

उनलाई एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड), पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मधेसी मोर्चाका विजयकुमार गच्छदार, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलगायत संविधानसभामा रहेका सबैजसो दलका नेता तथा प्रतिनिधि मैदानमा प्रस्तुत भएका थिए।
शीर्ष नेतामा सबैभन्दा लामो समय प्रधानमन्त्री सुशीलले मैदानमा बिताएका थिए । एमाले अध्यक्ष केपी ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड)लगायतका वरिष्ठ नेताहरु केही बेरमै मैदानबाट बाहिरिए पनि क्याप्टेन रहेका सुशील भने २५ मिनेटसम्म मैदानमै टिकेका थिए।
२५ मिनेटसम्म पनि मैदान नछोडेपछि उनको स्वास्थ्यलाई ध्यानमा राखेर उनलाई बाहिरिन अनुरोध गरिएको थियो । उनी मैदानमा निकै रमाएका थिए। पटकपटक बल हान्ने प्रयास गरेका थिए ।
सधैं जितका लागि दौडने नेताहरुलार्इ यो खेलमा कलाकारहरुले पछारे । नेताहरुविरुद्धको यो खेल कलाकारको टोलीले ३-० गोलअन्तरले जित्न सफल भए ।
































प्रतिक्रिया दिनुहोस्...