क्याप्टेन रावललाई अन्तिम बिदाइ, उन्नाइस दिनपछि रोयो दैलेख



फोटो :अन्नपूर्ण (हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन रावलको मंगलवार दैलेख बजारमा निकालिएको शवयात्रा)
सुर्खेत: प्रायः शान्त र खुसी देखिने नारायण नगरपालिकाको दैलेख बजार मंगलबार भने दिनभर मलिन बन्यो । अन्य दिनको तुलनामा बिहानैदेखि बजारमा मानिसहरुको आवतजावत निकै बढेको थियो । 
 
सरकारी तथा गैरसकारी निकायमा आवद्ध व्यक्तिहरुदेखि लिएर सर्वसाधारण समेत बजारको दुबैतर्फ उभिएर कसैलाई कुरिहरेका थिए । उनीहरुको अनुहारमा कुनै चमक थिएन, कतिपयले त आफ्नो आँखाको आँसु थाम्न समेत सकेका थिएनन् । मंगलबार दिनभर दैलेख बजार शोकमा डुबेको थियो ।
 
भूकम्पपीडितको उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका क्याप्टेन तपेन्द्र रावलको शव यात्रामा सहभागी हुन आएका मानिसहरुको भीडले दैलेख बजार भरिएको थियो । 
 
रावलको गत बैशाख २९ गते मृत्यु भएको थियो । मृत्यु भएको १९ दिनपछि रावलको मंगलबार मात्र गृह जिल्ला दैलेखमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नुअघि निकालिएको शव यात्रामा हजारौंको संख्यामा दैलेखीहरु सहभागी भएका थिए । 
 
सोमवार नेपाली सेनाको हेलिकोप्टर मार्फत रावलको शव नारायण नगरपालिका–८ सिमाडास्थित घरमा पुर्‍याइएको थियो । सोमबार ढिला भएका कारण मंगलबार मात्र क्याप्टेन रावलको दाहसंस्कार गरिएको हो । दाहसंस्कार गर्नुअघि उनको शवलाई दैलेख बजारका विभिन्न स्थानमा परिक्रमा गराएर श्रीस्थानमा रहेको आर्यघाटमा लगिएको थियो । 
 
शब यात्रामा सहभागी भएका सबैका आँखा रसाएका थिए । कतिपय उनका छिमेकीहरु भक्कानिएका थिए । यसअघि मृत्युको खबर पाएपनि धेरैले प्रत्यक्ष रुपमा नदेखेका कारण त्यसलाई पत्याउन भने सकेका थिएनन् । 
 
घटना भएको १९ दिनपछि जब रावलको शवलाई आँखै अगाडि देखे तब दैलेखीहरुले आफूलाई सम्हाल्न सकेनन् । उनका आफन्त र छिमेकी मात्र होइन शव यात्रामा सहभागी भएका दैलेखीहरु रावलको क्षमता र इमान्दारिताको चर्चा गरिरहेका थिए । 
 
 
यस्तै कतिपयले रावलले अन्तिम समयसम्म पनि देश र जनताको लागि आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै आँखाबाट आँसु बगाइरहेका थिए ।  अन्तिम दांहसस्कार गर्नुअघी आर्यघाटमा नेपाली सेनाको समसुर गुल्मको एक टुकुडीले सलामी दिएको थियो । क्याप्टेन रावलको मृत्युले उनका आफन्त र छिमेकीलाई मात्र नभई समग्र जिल्लालाई नै शोकमय बनाएको छ । जुन दृष्य मगलवार देखिएको थियो । 
 
घरघरबाट अन्तिम श्रद्धान्जलीका लागी मानिसहरु बजार तथा सडकमा निस्किएका थिए । बैशाख २९ गते भूकम्पपीडितको उद्धारका लागि अमेरिकन सेनाको हेलिकोप्टरमा दोलखा गएका उनी ४ दिनपछि मृत अवस्थामा भेटिएका थिए । 
 
रावलको शव पहिचान हुन नसकेपछि जेठ ४ गते डिएनए परिक्षणका लागि उनका बुवा बलबहादुरलाई काठमाण्डौं लगिएको थियो । शवको पहिचान भएपछि सोमवार मात्र जिल्ला ल्याइएको उनको शव मृत्यु भएको १९ दिनपछि मंगलबार दाहसंस्कार गरिएको हो ।
 
रावल सेनाको १० नम्बर बाहिनी अन्र्तगत युद्ध भैरव गणमा कार्यरत थिए । दैलेखको नारायण नगरपालिकास्थित सिमाडा गाउँ घटनाको खबर पाएदेखि नै शोकमा डुबेको छ । सानैदेखि इमान्दार स्वभावका तपेन्द्र पढ्नमा पनि अब्बल थिए । नेपाली सेनाको सहायक सेनानी पदबाट सेनामा प्रवेश गरेका तपेन्द्रको बिबाह गर्ने सपना अधुरै रहन पुगेको छ ।
 
मेजर पदमा बढुवा भएपछि मात्र घरमा बुहारी भित्राउने बाचा उनले बुबा बलबहादुरसँग गएको दशैंमा गरेका थिए । तर, भूकम्पको झड्कासँगै तपेन्द्रको मेजर बन्ने सपना र परिवारको पनि बुहारी भित्राउने चाहना तुहिन पुगेको छ । 
 
साथीभाई र गाउँमा सबैको मन जितेको तपेन्द्रले सानैमा आमालाई गुमाएका थिए । त्यसपछि उनलाई कान्छी आमाले नै हुर्काएकी थिइन् । उनी २०६० सालमा सेनामा प्रवेश गरेका थिए ।  






प्रतिक्रिया दिनुहोस्...