हात हल्लाउँदै विदा भएका डाक्टर दम्पत्तीको पहिरोले ज्यान लियो


काठमाडौं- डाक्टर तरुणदिप सिंह कोचर लुम्बनी क्षेत्रमा आँखा उपचारका लागि कहलिएको नाम हो। भारतीय राष्ट्रियता भए पनि उनले नेपालीलाई सेवा पुर्‍याउँदै आएका थिए। प्राध्यापक समेत रहेका उनले बुधबार बिहान लुम्बनी मेडिकल कलेज प्रभास, तानसेनमा एमबीबीएसका विद्यार्थीलाई पढाए। बिरामी जाँचे।



डाक्टर दम्पत्तीः तरुणदिप कोचर र यसोदा

हप्‍ताको दुई पटक पाल्पा आउने उनीहरु बुधबार कक्षा सकेर बुटवलतर्फ फर्किंदै थिए। उनीहरु चढेको लु १ च २७० नम्बरको भेन करिब ४:३५ सिद्धबाबा नजिक त्यहाँ पुग्दा माथिबाट पहिरो खस्न थाल्यो। उनीहरु चढेको भेनलाई पहिरोले पुर्‍यो। दोभान नजिकै शिद्धबाबा क्षेत्रमा खसेको पहिरोले डाक्टर तरुणदिपसँगै उनकी श्रीमती डाक्टर यसोदाको घटनास्थलमै मृत्यु भयो।

शिद्धबाबा पहिरोको जोखिमयुक्त क्षेत्र पनि हो।

यसोदा स्त्रीरोग विशेषज्ञ हुन् भने तरुणदिप आँखा विशेषज्ञ हुन्।

यसअघि उनीहरु भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पढाउँथे। एक वर्षअघि कोचर दम्पतिले लुम्बिनी मेडिकल कलेजमा पढाउन थालेका थिए। उनी मेडिकल कलेजमा मिलनसार चिकित्सकका रुपमा परिचित थिए।

'उनी मिलनसार स्वभाव र उच्च क्षमताका लागि डाक्टरहरुबीच प्रख्यात थिए', लुम्बनी मेडिकल कलेजका डा. निलराज शर्माले नागरिकन्युजसँग भने, 'सीमावर्ती सुनौलीमा उहाँहरुको क्लिनिक पनि थियो।'

बुधबार दिउसो कोचर दम्पती बिरामीको नियमित चेकअप सकेर विद्यार्थीलाई हात हल्लाउँदै मेडिकल कलेजबाट निस्किएका थिए।

कोचरका एक छोरा र एक छोरी छन्। कोचरसँगै रहेका अन्य दुईजना घाइते छन्।




प्रतिक्रिया दिनुहोस्...