काँग्रेस र एमालेको प्रस्तावप्रति मधेशवादी र जनजाती पार्टीको आपत्ति


काठमाडौं, जेठ २१ – काँग्रेस र एमालेले ल्याएको ६ र ८ प्रदेशको प्रस्तावलाई विपक्षी ३० दलीय गठबन्धनले नमान्ने भएका छन् । आज सिंहदरवारमा बसेको गठनबन्धनको बैठकमा बोल्ने नेताहरुले पहिचानबिनाको, कलस्टरविनाको, नमाङ्कनविनाको र सीमाङ्कनविनाको संघीयता स्वीकार नहुने धारणा राखेका हुन् ।

काँगेस र एमालेसँग विभिन्न चरणमा भएको छलफलबारे एमाओवादीका अध्यक्ष एवं गठबन्धनका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ब्रिफिङ्ग गरेपछि नेताहरुले त्यसमाथि आफ्नो धारणा राखेका थिए । धारण राख्ने अधिकांशले गठबन्धनबाट पेस भएको नौ बुँदे प्रस्ताव नै आफूहरुको बटमलाइन रहेको दोहोर्याएका थिए । काँग्रेस र एमालेले ६ र ८ प्रदेशको प्रस्ताव राखेको छ । ६ प्रदेशमा संयुक्त पहिचान हुन्छ भने प्रदेशसभाले त्यसको नामाङ्कन गरिने काँग्रेसको प्रस्तावमा उल्लेख छ । त्यस्तै ८ प्रदेशमा पनि नामाङ्कन प्रदेशसभाले गर्ने र सीमाङ्कन पनि आयोग बनाएर गरिने उल्लेख गरिएको छ । तर, यी प्रस्तावमाथि मधेशवादी दल र आदिवासी–जनाजातिका दलहरु सकारात्मक छैनन् । तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले बैठकपछि रातोपाटीसँग कुरा गर्दै भने, ‘यो कुनै पनि हालतमा हामीलाई स्वीकार हुँदैन ।’ ‘संख्या हाम्रो लागि ठूलो कुरा होइन तर पहिचान, सीमाङ्कन र नामाङ्कन महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘१० प्रदेशको प्रस्ताव गरेका छौं त्यसमा हामी तलमाथि हुन सक्छौ तर पहिचान, सीमाङ्कन, नामाङकनलगायतका विषयमा कम्परमाइज गर्न सकिदैन ।’ बैठकमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अरु विषयमा लचिलो भएपनि संघीयताको विषयमा आफूहरु लचिलो नहुने धारणा राखेका थिए । बैठक भोली फेरि बस्ने भनिएको छ ।




प्रतिक्रिया दिनुहोस्...