राहत सामग्री व्यक्तिको डेरामा भेटिएपछि हंगामा, एमाले कार्यकर्ताको कारबाट त्रिपाल बरामद


लमजुङ, जेष्ठ २२ । लमजुङमा भूकम्पपीडितलाई वितरण गर्न लगिएको राहत सामग्री व्यक्तिको घरमा फेला परेपछि हंगामा भएको छ ।

सदरमुकाम बेसीसहर–९ शेराचोकनजिकै रमेश घलेको डेरा र डेरा अगाडिको सटरबाट १ सय ७५ थान त्रिपाल, ११ बोरा ब्लाङ्केट, ३ बोरा नुन, १ कार्टुन जीवनजल फेला परेको हो ।

यस्तै, एमाले कार्यकर्ता शिव जोशीको बा६च ३८०४ नम्बरकोकारबाट ७५ थान त्रिपाल, १० थान झुल र शेराकुनाको एक घरबाट २० थान त्रिपाल र ३ बोरा नुन भेटिएको छ । स्थानीयको सुराकीको आधारमा प्रहरीले ती सामग्री बरामद गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाबाट पठाइएको उक्त राहत सामग्री जिल्ला दैवी प्रकोप उद्दार समितिमा नबुझाइ व्यक्तिहरुले घर–घरमा लुकाएपछि जिल्लाका कांग्रेस र एमाले कार्यकर्ताबीच चर्को विवाद भएको छ ।

दुबै पार्टीका जिल्ला सभापतिहरुले एक–अर्कामाथि दोष लगाउँदै विज्ञप्तिसमेत निकालेका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले राहत सामग्री दैवी प्रकोप उद्धार समितिमा ल्याउनुपर्नेमा व्यक्तिहरुले लगेर राख्नु गलत भएको बताए ।

राहत सामग्री लुकाएको भन्दै स्थानीय युवाहरुले शुक्रबार यहाँ विरोध प्रदर्शनसमेत गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्...