पुजारीले बाहिर पूजा गर्न मानेन्, केबलकार अझै केही समय नचल्ने


फोटो :फाइल तस्‍बिर
चितवन : मनकामना मन्दिरका पुजारीले मन्दिर बाहिर पूजा गर्न नमानेपछि अरु थप समय मनकामनामा केबलकार सञ्चालन नहुने देखिएको छ । 
 
पुजारी इन्सान थापा मगरले देवीको थान बाहिर पूजा गर्दा सन्देश राम्रो नजाने बताए। नियमित कर्म पूजा गरिरहेको बताउँदै उनले जतिसक्दो छिटो मन्दिरको भाग बाहिर निकालेर देवीको स्थानमा ट्रसले बारेर नियमित पूजाआजा गर्न सकिन्छ भने।  उनले भने– “मलाई बाहिर पूजा गर्न दबाब आइरहेको छ तर देवीभित्र भएकाले बाहिर पूजा गर्दा राम्रो सन्देश नजाने भएकाले म त्यसको पक्षमा छैन ।” 
 
अहिले मन्दिर भत्काउनका लागि खट बाँध्ने काम भइरहेको छ । मन्दिर एक फिट दक्षिण पश्चिम कोल्टिएपछि मन्दिरमा खट बाँध्न नमिल्दा मचान बनाएर खट बाँध्ने काम अन्तिम चरणमा पुगेको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए। 
 
मन्दिर भत्काउनका लागि करिब एक महिना लाग्ने बताइएको छ । मनकामना केबलकार सञ्चालक र स्थानीय व्यवसायीले पुजारीलाई बाहिर पूजा गरिदिन आग्रह गरे पनि पुजारी त्यसमा सहमत नभएपछि मनकामना केबलकार थप एक महिना सञ्चालन नहुने देखिएको छ । 
 
गत वैशाख १२ गते भूकम्प गएपछि बन्द केबलकार वैशाख २७, २८ र २९ मा सञ्चालनमा आएको थियो । पुनःभैँचालो गएपछि वैशाख २९ गतेदेखि फेरि बन्द भएको हो । मनकामना दर्शन प्रालिका स्टेसन प्रमुख उज्ज्वल शेरचनले छलफल गरी छिटो केबलकार सञ्चालनको तयारी भइरहेको बताए। 
 
यस मौसममा दैनिक दुई हजारदेखि दुई हजार ५०० भक्तजनले मनकामना केबलकार चढ्ने गर्छन् । एक महिना केबलकार बन्द हुँदा रु पाँच करोडभन्दा बढी नोक्सान हुने उनको भनाइ छ । रासस 





प्रतिक्रिया दिनुहोस्...